जनता टाइम्स

३० श्रावण २०८३, शनिबार २०:४६

काठमाडौँ उपत्यकामा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण


काठमाडौं, साउन ३० नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा शनिबार अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ।

निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट ग्यास वितरण गरिएको हो।

वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत आइतबार पहिलो प्राथमिकतामा ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।

आइतबार थप सात केन्द्रबाट ग्यास वितरण

निगमले आइतबार काठमाडौँ उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्तालाई एलपी ग्यास वितरण गर्ने भएको छ।

टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्।

पशु सेवा शाखा, चापली–बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु तथा राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

त्यस्तै, नयाँ बजार/नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ।

पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिने निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ। बजारमा बिक्री–वितरण सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत आग्रह गरेको छ।

ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।