जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १५:१२

त्रिभुवन विमानस्थलबाट ५ सय ग्रामभन्दा बढी सुन बरामद, भारतीयसहित दुई पक्राउ


काठमाडौं, असोज ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५ सय ग्रामभन्दा बढी सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

कतारको दोहा हुँदै काठमाडौं आएका भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट ५ सय ३६ ग्राम सुनसहित पक्राउ गरिएको हो।

यस्तै, कतारबाटै आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारीलाई ६९ दशमलव ६ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी बसन्त रजौरले जानकारी दिनुभयो।