पोखरा, मंसिर १ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सहकारी ठगी कसुरमा ८ वर्ष कैद सजाय सुनाइएको छ ।
पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपालीलाई जिल्ला अदालत कास्कीले १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्न पनि आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले गरेको फैसलाअनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
त्यस्तै, सञ्चालक निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
अदालतका अधिकृत तारानाथ पोखरेलका अनुसार फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ । पूर्णपाठ तयार भएपछि अदालतको वेबसाइटमा सार्वजनिक गरिनेछ ।
यो फैसला ११० जना बचतकर्ताले दिएको जाहेरीका आधारमा भएको हो । उनीहरूले सहकारीबाट बचत रकम फिर्ता नपाएको भन्दै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो दाबी गर्दै १५ जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेका थिए ।
यसअघि नेपालीसहित सहकारीका सञ्चालकविरुद्ध ५२४ जना बचतकर्ताले ५७ करोड ३५ लाख रुपैयाँ बिगो दाबी गर्दै जाहेरी दिएका थिए । पछि सञ्चालकहरूले ४०० जना बचतकर्तासँग मिलापत्र गरेपछि उनीहरूको जाहेरी फिर्ता भएको थियो । मिलापत्र हुन नसकेका ११० जना बचतकर्ताले दिएको पूरक जाहेरीका आधारमा अदालतले फैसला गरेको हो ।
नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए । दुवै सहकारीमा गरी करिब २ अर्ब रुपैयाँ अपचलन भएको भन्दै बचतकर्ताले दुवै जिल्लामा जाहेरी दिएका थिए ।
सहकारी ठगीको अभियोग लागेपछि फरार भएका नेपाली करिब डेढ वर्षपछि २०८१ असोज ११ गते भारतबाट पक्राउ परेका थिए । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो । हाल उनी जिल्ला अदालत बागलुङको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् ।
कास्की जिल्ला अदालतमा पेस भएको अभियोगपत्रका आधारमा कात्तिक १७ गते फैसला भएको हो । बागलुङमा परेको जाहेरीका आधारमा जिल्ला अदालत बागलुङमा भने छुट्टै मुद्दा विचाराधीन छ ।














प्रतिक्रिया दिनुहोस्