जनता टाइम्स

१० आश्विन २०८३, शनिबार ०७:४५

आज पाँच प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना


काठमाडौँ, असोज १०। देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ । यी प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ आसपासमा रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने विभागले जनाएको छ ।