जनता टाइम्स

१६ आश्विन २०८३, शुक्रबार १४:५६

बागमती प्रदेश नीति तथा योजना आयोगमा नयाँ नेतृत्व : उपाध्यक्ष डा. देवराज रोका र सदस्यहरूले लिए सपथ


काठमाडौं, असोज १६। बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिनुभएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका तथा सदस्यहरू डा. दीपक विक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवर सिंह थापालाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो।

प्रदेश सरकारको नीति निर्माण, योजना तर्जुमा तथा विकासका प्राथमिकता निर्धारणमा महत्वपूर्ण भूमिका रहने आयोगमा नयाँ पदाधिकारी नियुक्त भएसँगै आयोगले थप प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको व्यक्ति हुनुहुन्छ। उहाँले चीनको बेइजिङस्थित University of International Business and Economics बाट सन् २०१६ देखि २०१९ सम्म राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो। उहाँले अर्थशास्त्र तथा समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गर्नुभएको छ भने जनसंख्या अध्ययनमा स्नातकोत्तर तथा अर्थशास्त्रमा स्नातक तहको अध्ययन गर्नुभएको छ।

डा. रोकासँग सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव रहेको छ। उहाँले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रूपमा सन् २०२१ देखि २०२४ सम्म काम गर्नुभएको थियो।

यसअघि उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत राज्य स्वामित्वका उद्यम तथा औद्योगिक क्षेत्र व्यवस्थापनमा महाप्रबन्धकका रूपमा सन् २०१५ मा जिम्मेवारी सम्हाल्नुभएको थियो। चीनको बेइजिङस्थित Chinese Academy of Sciences अन्तर्गत Institute of Geographical Research & National Resources मा उहाँले सन् २०१९ देखि २०२१ सम्म Visiting Scholar का रूपमा समेत काम गर्नुभएको थियो।

डा. रोकाले Human Rights Alliance मा कार्यकारी निर्देशक तथा Karnali Integrated Rural Development and Research Center मा कार्यक्रम संयोजकका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको छ।

उहाँको अध्यापन क्षेत्रमा समेत लामो अनुभव रहेको छ। सन् १९९९ देखि २०१४ सम्म उहाँले कोटेश्वर बहुमुखी क्याम्पस तथा पाटन बहुमुखी क्याम्पसमा जनसंख्या अध्ययन विषय अध्यापन गर्नुभएको थियो।

डा. रोकाले जलविद्युत् विकासले नेपालको कुल गार्हस्थ्य उत्पादनमा पार्ने प्रभाव, आर्थिक वृद्धि, खुसी र आय असमानता, आर्थिक स्वतन्त्रता, मानव विकास तथा खुसीलगायतका विषयमा अनुसन्धान गर्नुभएको छ। नेपालसँग चीन र भारतको आर्थिक सहकार्य तथा व्यापारिक प्रतिस्पर्धाका विषयमा समेत उहाँले अध्ययन गर्नुभएको छ।

उहाँको ‘State Restructuring and Federal Debate in Nepal’ नामक पुस्तक प्रकाशित छ। लोकतन्त्र, संघीयता, स्थानीय शासन, निर्वाचन प्रणाली तथा संविधान निर्माण प्रक्रियालगायतका विषयमा उहाँका १०० भन्दा बढी लेख राष्ट्रिय पत्रपत्रिका तथा विभिन्न जर्नलमा प्रकाशित भएका छन्।

डा. रोकाले UNFPA Dissertation Scholarship, YES China Scholarship तथा Chinese Government PhD Scholarship प्राप्त गर्नुभएको छ।