जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार ०७:१८

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न


ललितपुर, कात्तिक ८ । ललितपुरको पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा धार्मिक विधि र परम्पराअनुसार सम्पन्न भएको छ ।

हरेक वर्ष दसैँको फूलपातीका दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु हुने जात्रा शनिबार त्रयोदशीका दिन सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार लिच्छविकालदेखि नै मानमानेश्वरी भवानीलाई शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ । जात्राको मुख्य आकर्षण देवगण तथा गुठियारले हातमा खड्ग बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाई बाजागाजासहित सहर परिक्रमा गर्नु हो ।

पायो जात्रा पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको पुरानो परम्परागत जात्रा हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो । दसैँको दशमीको साँझ मूलचोकबाट मंगलबजार चोकमा श्री भवानी र श्री नवदुर्गाबीच मिलन गराइएको थियो ।

त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूलचोकबाट पुनः मुछेँस्थित आगमघरमा विराजमान गराएसँगै जात्रा सम्पन्न भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पायो जात्रा ललितपुरको पहिचान र पुर्खाको सांस्कृतिक विरासत भएको बताउनुभयो । उहाँले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य सांस्कृतिक सम्पत्तिका रूपमा जात्राको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महर्जनले जात्रा सञ्चालनका क्रममा आर्थिक अभाव र कठिनाइ हुन नदिन महानगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।