जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ०७:२७

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल


बाँके, कात्तिक ११ । वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल बढ्न थालेको छ ।

मनसुन सकिएपछि निकुञ्जका कच्ची बाटा मर्मत गरी पर्यटकका लागि सफारी खुला गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो । उहाँका अनुसार जैविक विविधताले भरिपूर्ण निकुञ्जमा दुर्लभ चौसिङ्गा, पाटेबाघ, हात्ती, गैँडा, चितुवा तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।

पर्यटक आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित एक हजार रुपैयाँको नयाँ प्याकेजसमेत सार्वजनिक गरेका छन् । कम खर्चमै जङ्गल सफारी र वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले यो प्याकेजले युवा तथा मध्यमवर्गीय पर्यटकलाई आकर्षित गर्न थालेको चौधरीले बताउनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले प्रकृति र स्थानीय संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि यो मौसम उपयुक्त रहेको बताउनुभयो । उहाँका अनुसार जीपमा जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तु, चराचुरुङ्गी र प्राकृतिक वनस्पति अवलोकन गर्नु पर्यटकका लागि विशेष अनुभव बन्न सक्छ ।

निकुञ्जमा पर्यटकको आगमन पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ पर्यटक निकुञ्ज पुगेका थिए । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ६२० र आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटक पुगेका थिए ।

निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले निजी क्षेत्रसँग समन्वय गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष योजनासहित अघि बढिरहेको जानकारी दिनुभयो ।