जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार १९:३२

बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाको अन्तिम तयारीमा रामेछापकाे सुनापति गाउँपालिका 


रामेछाप, मंसिर १२ । रामेछापको सुनापति गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने अभियानको अन्तिम चरणमा पुगेको छ। आवश्यक भौतिक पूर्वाधार निर्माण, नीतिगत तथा प्रशासनिक कागजात व्यवस्थापन र निर्धारित सूचकहरू पूरा गर्ने काम तीव्र गतिमा अघि बढेसँगै गाउँपालिका घोषणा प्रक्रियाले गति लिएको हो।

गाउँपालिकाले पहिलो चरणमा वडा नं. ४ बेथानलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको छ। त्यसका लागि आवश्यक पूर्वाधार, अभिलेख व्यवस्थापन तथा निर्धारित सूचकहरू पूरा गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

घोषनाको तयारीको अवस्थाबारे जानकारी लिन जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्की तथा उपप्रमुख प्रेमसागर थापा सहित जिल्लाका सम्बन्धित अधिकारीहरूको टोलीले वडा नं. ४ बेथानको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।  

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृतलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। टोलीले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक सूचक, भौतिक पूर्वाधार, अभिलेख तथा व्यवस्थापकीय तयारीको अवस्थाबारे जानकारी लिँदै आवश्यक सुझावसमेत दिएको थियो।

बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न जनप्रतिनिधि तथा कर्मचारीहरू सक्रिय रूपमा खटिरहेका छन्। निर्माण गर्नुपर्ने भौतिक संरचनाको निर्माण कार्य अघि बढाइएको छ भने आवश्यक नीतिगत, प्रशासनिक तथा अन्य कागजात व्यवस्थापनलाई पनि अन्तिम रूप दिइँदै छ।

बालबालिकाको अधिकार संरक्षण, उनीहरूको अर्थपूर्ण सहभागिता, बालमैत्री वातावरण निर्माण तथा सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

यस अभियानले बालबालिकाको हकहित संरक्षणसँगै स्थानीय शासन प्रणालीलाई थप जिम्मेवार, समावेशी र बालमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।