जनता टाइम्स

१५ माघ २०७६, बुधबार ०९:१२

६८ लाख रकमसहित अनलाइन सपिङका नाममा ठगी गर्ने गिरोह पक्राउ, यसरी खुल्यो ठगी धन्दाको पोल


विराटनगर, माघ १५ । अनलाइन सपिङका नाममा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। मोरङ प्रहरीले अनलाइन सपिङको नाममा ठगी गर्ने गिरोहका आठ जनालाई ६८ लाख रकमसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउँपालिका ४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका २० विष्णुपादुकाकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्की रहेका छन्।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार आचार्य ठगी धन्दाका मुख्य नाइके रहेको अनुसन्धानबाट खुलेको छ। आचार्यले यही धन्दामा अन्य सात जनालाई परिचालन गरेको पाइएको हो । ती मध्ये पनि खड्का र चौलागाई आचार्यको विश्वासपात्र हुन । अन्य युवतीले भने आचार्यलाई बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पुर्‍याएको खुलेको छ। आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भारतमा बसेर उनको सम्पर्कमा रहँदै नेपालमा गिरोह सञ्चालन गर्नेमा मिश्रा राजुभाइ, राजाराम त्रिपाठी, राजेश विश्वास, जहेब हुसेन, कुनाल थमन, नमु श्रीकान्त, कंकिता थमन रनदप्रसाद साहलगायतका व्यक्ति रहेको एसपी अधिकारीले बताउनु भयो । प्रहरीका अनुसार आचार्यले विभिन्न बैंकमार्फत ९० लाख रुपैयाँ भन्दा बढी भारतमा बसेर ठगी धन्दा चलाउनेलाई बुझाइसकेको देखिन्छ।

ठगी गर्ने क्रममा उनले २५ भन्दा बढी भारतीय र नेपाली बैंक प्रयोग गरेका छन्। आचार्यका ७८ वटा नेपाली र १७ वटा भारतीय बैंकका खाता रहेका छन्। उनले अन्य १७ जना व्यक्तिका नाममा खाता खोलेर हस्ताक्षर गर्न लगाउँदै चेक भने आफै राखेर प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वर्षा कार्कीको १४, लक्ष्मी कार्कीको १३, सानु गौतमको २२ वटा बैंक खाता फेला परेका छन्। एउटै बैंकमा नाम परिवर्तन गर्दै उनीहरुले अलगअलग तीन वटासम्म खाता खोलेको अधिकारीले बताउनु भयो।

अधिकारीले सामानको ‘अर्डर’ लिएकासँग बैंकमा पैसा पठाई माग्ने र पैसा झिकिसकेपछि खाता नै बन्द गरेर सम्पर्कविहीन हुने गरेको पाइएको जानकारी दिनुभयो । सामानको ‘अर्डर’ को पैसा लिइसकेपछि ग्राहकलाई सामान नपुर्‍याइकन पक्राउ पर्ने डरले खोलिएका खाता भने बन्द गर्ने गरेका थिए । प्रहरीले खड्काको साथबाट ४२ हजार पाँच सय, उनको कोठाबाट सात लाख १३ हजार रुपैयाँ बरामद गरेको छ। प्रहरीले आचार्यको साथबाट २६ हजार नगद र उनका जेठानले बैंकमा जम्मा गरेको ४१ लाख ९८ हजार तथा घरबाट १८ लाख १९ हजार पाँच सय रुपैयाँ बरामद गरेको हो। ‘अनलाइन सपिङ’ नाममा ठगी गरिएको ६७ लाख ९९ हजार सात सय ५० रुपैयाँ बरामद भएको छ ।

खड्का र आचार्यको घर र कोठाबाट २५ वटा नेपाली र पाँच भारतीय बैंकका चेक तथा एटीएम कार्ड भेटिएका छन्। छापा मार्दा ५८ वटा बैंकका चेकबुक र १५ वटा खाली चेकबुक पनि फेला परेको एसपी अधिकारीले बताए। उनका अनुसार पक्राउ परेकासँग नेपाली र भारतीय गरेर तीन दर्जन बढी सिमकार्ड फेला परेका छन्। आचार्यका साथबाट विभिन्न व्यक्तिको नाममा रहेका नागरिकताको ३७ वटा फोटोकपी भेटिएका छन्।

विराटनगर भन्सार कार्यालय सवारी साधनको अस्थायी पैठारी अनुमती पत्र ४० वटा र भन्सार प्रज्ञापनपत्र काटिएको ६० वटा रसिद तथा खाली भान्सार प्रज्ञापन रसिद प्याड र भन्सार कार्यालयको छाप पनि फेला परेको एसपी अधिकारीले बताउनु भयो।

यसरी खुल्यो ठगी धन्दा

सुनसरीको इटहरी घर भई काठमाडौंमा बसोबास गर्दै आएकी छत्रकुमारी धमलाले ठगी गरेको भन्दै एक व्यक्तिले महानगरीय अपराध महाशाखामा उजुरी गरे। सनराइज बैंकमा खाता खोलेर ठगी गरेको र त्यसपछि खाता बन्द गरेको उजुरी परेपछि उनलाई प्रहरीले अनुसन्धान गर्‍यो। प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको नाममा विराटनगरमा रहेको एनआईसी एसिया बैंकमा खाता रहेको पाइएको छ। विराटनगरबाट एटीएम कार्ड पनि निकालिएको थियो। यही अनुसन्धानका क्रममा विराटनगरस्थित सिभिल बैंकको एटीएमबाट खड्का पक्राउ परेका थिए। खड्काले दिएको बयानका आधारमा गिरोहमा संलग्न अन्यलाई पक्राउ गरेको हो ।