सर्लाही, बैशाख ५ । कोरोना भाइरसको महामारीमा भारतले अमानवीय काम गरेको छ । कोरोना रोकथामका लागि लकडाउनसँगै भारतका विभिन्न क्वारेन्टाइनमा रहेका १ सय २३ जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर मध्यराती सीमा क्षेत्रमा ल्याएर छाडिदिएका हुन ।
भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई भारतको कन्हौली नाकास्थित लखन्देही खोलामा ल्याएर बिहीबार राती छाडिदिएका पीडित नेपालीले बताएका छन । सोनवर्षालगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राती लखन्देही खोलाको बाटो देखाइदिएर छाडेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिनुभएको छ ।
‘भारतका विभिन्न क्वारेन्टाइनमा केही दिनदेखि राखिएकालाई बीना जानकारी सीमा भारतीय सुरक्षाकर्मीले ल्याएर छोडिदिएका छन, अहिले उनीहरुलाई सीमा क्षेत्रमै राखिएको छ,’ प्रजिअ जिसीले भन्नुभयो । भारतले मध्यराती छाडेका नेपालीहरुमध्ये केहीलाई ज्वरो आएको छ । नेपालले लकडाउनको समयमा यस्तो अमानवीय काम नगर्न अनुरोधसहित भारतमै फर्काउने प्रयाश गरिरहेको भएपनि भारतले कुनै चासो दिएको छैन ।
सशस्त्र प्रहरी उपरीक्षक विनोदराज क्षेष्ठका अनुसार १ सय २३ जनामध्ये हाल कन्हौली नाकामा ९१ जना रहेका छन । अन्य नेपाली भने लुकेर कतै बसेको हुनसक्ने आशंका गरिएको छ । खोलामा छाडिएका उनीहरु बिहानै कौडेना गाउँपालिका ३ मा आएका थिए । वडाध्यक्ष प्रभु चौधरीका अनुसार उनीहरु वडामा आएपछि प्रहरीलाई जानकारी दिइएको हो ।
भारतले मध्यराती सीमामा छाडेपछि सर्लाहीको कौडेना गाउँपालिका ३ सम्म आइपुगेका पीडित नेपाली
वडाध्यक्ष चौधरीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार उनीहरु बिहानै लगभग ६५ देखि ६८ जना कौडेना बजारभन्दा पश्चिममा रहेको पेट्रोल पम्मसम्म आइपुगेका थिए । धेरै संख्यामा मानिस आएको देख्दा कहाँबाट आएको भनि सोधपुक्ष गर्दा आफूहरु भारतको क्वारेन्टाइनबाट आएको जानकारी दिएको उहाँको भनाई छ । यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट आएका थिए । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन ।
प्रतिक्रिया दिनुहोस्