काठमाडौं, बैशाख ६
नेपालमा कोरोनाका ३० संक्रमित मध्ये दोस्रो युवति संक्रमणमुक्त भएर घर फर्किएकी छन् । उनले कोरोनामाथी २७ दिनपछि विजयी हात पार्दै अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
गत ४ चैतमा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनि नेपालमा संक्रमित देखिने दोस्रो व्यक्ति हुन् । यसअघि माघमा चीनबाट आएका व्यक्तिमा कोरोना देखिएको थियो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार गरिरहेकी उनको आज आएको अर्को रिपोर्ट पनि नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । केही दिनअघि गरिएको परीक्षणमा नेगेटिभ आएपछि फेरि गरिएको दोस्रो पटक परीक्षणमा समेत कोरोना नेगेटिभ आएपछि अस्पतालले आज उनलाई डिस्चार्ज गरेको हो ।
उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्