जनता टाइम्स

६ बैशाख २०७७, शनिबार १८:१३

कोरोनाले अत्याउछ, आत्मबल बलियो बनाउनुस् अवश्य जित्नुहुनेछ : प्रसिद्धि श्रेष्ठ (भिडियोसहित)


गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी हुँ । घर आएको चार दिनपछि मसँगै जहाजमा यात्रा गरेकी भियतनामकी साथीले आफू कोरोनाभाइरस संक्रमित भएको सुनाइन् ।

त्यसपछि म पनि अब परीक्षण गर्न जानुपर्छ भनेर चैत ९ गते परीक्षणका लागि टेकुस्थित अस्पताल आए, परीक्षण गराए । कोरोनाभाइरस संक्रमण देखिएपछि त्यही दिन अस्पताल भर्ना भए । म परीक्षणका लागि अस्पताल आउनुअघि खासै लक्षण देखिएका थिएनन् । अस्पताल भर्ना भएको दुइ दिनपछि बल्ल लक्षण देखियो । सास फेर्न गाह्रो भयो, खोकी लाग्यो, पेट दुख्यो ।

फ्रान्सबाट घर आएदेखि नै म अलगै बसेको थिए । म घरमै सेल्फ आइसोलेसनमा बसेको थिएँ । जहाजमा रहँदा पनि म अलग्गै अरुसँग नजिक नपर्ने गरी बसेकी थिएँ, कोरोनाको महामारी चलिरहेकाले मैले जहाजमै सजगता अपनाउँदै आएँ, शौचालय पनि प्रयोग गरिनँ । त्रिभुवन विमानस्थलमा ओर्लिएदेखि घरमा आएपछि पनि मैले आफूलाई सेल्फ आइसोलेसनमा राखेकी थिएँ । त्यहीकारण मेरो परिवारका अरु कुनै सदस्यलाई कोरोना सर्न पाएन ।

अस्पतालमा उपचारमा रहँदा स्वास्थ्यकर्मी, डाक्टर, नर्स र कर्मचारीबाट आफूलाई धेरै सहयोग मिल्यो । डाक्टरहरूले म ठीक हुन्छु भन्नुभएको थियो । अस्पतालले गरेको रेखदेखप्रति म संतुष्ट छु । आफ्नो उपचारमा खटिएका डाक्टरहरू सागर राजभण्डारी र अनुप बाँस्तोलालाई धन्यवाद दिन्छु । डा. अनुपले सुरूबाटै नआत्तिनु ठीक हुन्छ भनेर दिनु भएको हौसलाले ठूलो काम गर्‍यो ।

श्‍वास फेर्न एकदमै अफ्ठ्यारो हुँदो रहेछ । पेटमा दुखाई पनि चर्को थियो । थकाई एकदमै धेरै लाग्थ्यो, कोरोनासँग जुधिरहँदा समाजमा हुने टिप्पणीले पनि मनोबलमा असर गर्दो रहेछ । कतिले सत्य कुरा बोल्नु भएको थियो भने केहीले कुरै नबुझी चित्त दुख्‍ने कुरा गर्नुभयो । पत्रकारहरुले पनि राम्ररी नबुझी गरेको टिप्पणीप्रति मेरो गुनासो छ ।

सरकारले धेरै प्रयासहरू काम गरिरहेको छ । सकेसम्म मानिसहरूलाई आइसोलेसनमा राख्न सहयोग गरिदिनुहोला । धेरै मानिस आइसोलेसनमा बस्न पाएका छैनन् । जनता पनि इमान्दारपूर्वक आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नुपर्छ । सेल्फ आइसोलेसन महत्वपूर्ण कुरा हो । तपाईं बाहिरबाट आउनुभएको छ भने परीक्षण पनि गराउनुस्, सरकारले त्यो सुविधा पनि दिएकै छ ।

सकेसम्म आफूलाई सुरक्षित राख्न सबैसँग म आग्रह गर्दछु । अनावश्यक हिँडडुल नगर्नू, परीक्षण गर्नू, सेल्फ आइसोलेसनमा बस्नू । मास्क, ग्लोव्स् र चस्मा लगाउनुस् । अस्पतालमा हुनु हुनेहरुले धैर्यताका साथ बस्नुहोला । मेरो पनि लगातार टेस्ट गर्दा आजको अवस्थामा आइपुगेको हो । त्यसै होइन । समय लाग्ला तर आत्तिनुपर्दैन, ठीक हुन्छ ।

कसैलाई आवश्यक पर्दा म प्लाज्मा दिने घोषणा पनि गर्दछु । निको हुनुलाई मैले मौकाको रूपमा लिएको छु । प्लाज्मामा एन्टिबडि म दान गर्न चाहन्छु । मैले दान गरेको प्लाज्माले हेल्प गरोस् भन्ने आशा छ । (अस्पतालबाट डिस्चार्ज हुँदा श्रेष्ठले दिएको अभिव्यक्तिको सम्पादित अंश)