जनता टाइम्स

६ बैशाख २०७७, शनिबार २०:२५

थप एक जनामा देखियो कोरोना, कुल संख्या ३१ पुग्यो


काठमाडौं, बैशाख ६ । नेपालमा आज एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज सूचना दिँदै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले आज साँझ एक विज्ञप्ती निकाल्दै ६५ वर्षिया पुरुषमा कोरोना देखिएको पुष्टि गरेको हो । उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट ल्याइएकामध्ये थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका व्यक्ति विराटनगरका ६५ वर्षीय वृद्ध रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड १९ उपचार केन्द्रमा राखिएको थियो । उनीहरुसँगै बसेका ४ जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

ती चार जनामध्ये एकजनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको कोसी अस्पताल स्रोतले जनाएको छ । ती संक्रमितलाई शनिबार क्वारेन्टाइनमै सुरक्षित राख्न भनिएको छ ।