जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार २०:०६

कतारमा १७ नेपालीलाई आममाफी, प्रधानमन्त्रीले दिनुभयो धन्यवाद


काठमाडौं, बैशाख ११

कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन् ।

आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन् । लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक÷एक नेपाली रिहा हुनेछन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई आममाफी दिएको कतारका अमिर शेखलाई धन्यवाद दिनुभएको छ । उहाले आज टेलिफोन गरी त्यहा रहेका नेपालीका विषयमा जानकारी लिनु भएको छ । कोरोनाको महामारी फैलिरहेका बेला त्यहा रहेका नेपालीका बारेमा प्रधानमन्त्री ओलीले चासो राख्नु भएको थियो ।

‘आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें । मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें’, सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो । मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।