जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार १४:०४

भारतबाट आएर रौतहटमा बसेका दुई जनामा कोरोना


रौतहट, बैशाख १६

रौतहटमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । वृन्दावन नगरपालिका र देवाहीगेनाही नगरपालिकाका एक एक जना पुरुषमा कोरोना देखिएको हो । जसमध्ये वृन्दावन नगरपालिका–९ का पुरुष तीन साताअघि कलकताबाट आएका थिए भने देवाहीगेनाही नगरपालिका–१ का पुरुष दुई साताअघि दिल्लीबाट आएको खुलेको छ ।

दुबै जनाको जनकपुरमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ देखाएपछि जनकपुरमै पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण नतिजा नेगेटिभ देखाएपछि बृन्दावन–९ का पुरुषलाई घर पठाइएको थियो । शंका लागेर पुनः नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राख्‍ने तयारी भइरहेको छ ।

त्यसैगरी दिल्लीबाट आएका पुरुषमा पनि कोरोना नेगेटिभ आएपछि उनलाई स्थानीय विद्यालयमा बनाइएको क्‍वारेनटाइनमा राखिएको थियो । उनलाई पनि आइसोलेसनमा राख्‍ने तयारी भइरहेको छ । रौतहट कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । हालसम्म १६ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।