जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार ०७:२४

कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघ्यो, ३१ हजार ३ सय ४२ संक्रमित


काठमाडौं, बैशाख १७ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ । संक्रमितको संख्या ३१ हजार ३ सय ४२ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको हो । भारतमा संक्रमितमध्ये ७ हजार ७४७ जना उपचारपछि निको भएका छन् । २२ हजार ६०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा भारत सबै भन्दा बढी कोरोना प्रभावित मुलुकमा पनि भारत परेको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ २ हजार ९९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख १४ हजार ६५० बढी संक्रमित छन् । एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९२ हजार ५ सय बढी संक्रमित रहेका छन् भने ५ हजार ८७७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।