जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार ११:४३

जनआन्दोलन र द्वन्द्वकालका घाइतेलाई उपचारका लागि प्रशासनको सम्पर्कमा आउन प्रधानमन्त्रीको आव्हान


काठमाडौं, बैशाख १९

प्रधानमन्त्री केपी शर्मा ओलीले जनआन्दोलन र द्वन्द्वकालका घाइतेको उपचार राज्यले गर्ने बताउनु भएको छ । उहाले त्यस्ता घाइतेलाई तत्काल राज्यको प्रशासनको सम्पर्कमा आउने अपिल गर्नुभएको छ ।

मे दिवसको अवसरमा दिएको सन्देशमा उहाले विगतमा यस्ता अपिल गरेपनि त्यो लक्षितसम्म नपुगेको हुन सक्ने भन्दै कोही उपचारबाट बञ्चित भए सम्पर्कमा आउन आव्हान गर्नुभएको हो । उहाले अब कोही पनि नेपाली शरीरमा गोली र छर्रा बोकेर बस्नु नपर्ने भन्दै सरकारले उपचारको प्रवबन्ध गरेको समेत जानकारी गराउनु भयो ।

‘विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरु अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आव्हान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन’, उहाले अगाडी भन्नुभयो, ‘म आव्हान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ । यस प्रयासबाट सबै घाइतेहरू पूर्ण निको भई श्रम बजारमा कार्यरत हुन सक्नेछन् ।’