जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १३:२०

कोरोना भाइरसले लियो ७३ जना गैर आवासीय नेपालीको ज्यान : ५२ सय बढी संक्रमित (सूचीसहित)


काठमाडौं, बैशाख २१ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड–१९) संक्रमणका कारण ७३ जना गैर आवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिवार साँझसम्म सा संख्यामा गैर आवासीय नेपालीको मृत्यु भएको हो ।

समितिका अनुसार कोरोनाबाट बेलायतमा मात्रै ४९ जनाको मृत्यु भएको छ । बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको हो । कोरोनाबाट बेलायतपछि अमेरिकामा गैर आवासीय नेपालीको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्याण्डमा एक जना गैर आवासीय नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार दुई सय ४७ जना गैरआवासीय नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन । संक्रमितमध्ये १५ सय ७० जना संक्रमणमुक्त भएको समितिको अनुमान छ ।

सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढीरहेको देखिएको छ । कतारसहित केही मध्यपूर्वका देशले दुई हजार तीन सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक भएको छ । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा एक सय २६, युएईमा एक सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जनासंक्रमित छन । यस्तै स्पेनमा १२, अष्टेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा पाँच, क्यानाडामा पाँच, जर्मनीमा चार, साईप्रसमा तीन, मलेसियामा तीन, न्युजिल्याण्डमा तीन, माल्दिभ्समा दुई, माल्टामा दुई, हङकङमा दुई, म्यानमारमा एक, फ्रान्समा एक जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको समितिले जनाएको छ ।