जनता टाइम्स

२५ बैशाख २०७७, बिहीबार १९:५०

उदयपुर भुल्केका थप ८ जना कोरोनामुक्त, शुक्रबार डिस्चार्ज गर्ने तयारी


विराटनगर, बैशाख २५

कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिइएको छ । कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एकजना भारतीय नागरिक हुनुहुन्छ ।

कोभिड–१९ उपचार केन्द्रका फिजिसियन डा. डेनप्रसाद आचार्यले संक्रमितहरुको दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएका कारण डिस्चार्ज गर्नका लागि सिफारिस गरिएको बताउनुभयो । उहाँका अनुसार अवस्था अति सामान्य रहेको र दोस्रो स्वाब समेत नेगेटिभ देखिएका कारण डिस्चार्ज गरेर नियमित निगरानी र सावधानीमा रहनु पर्नेछ । यसअघि ६ जनालाई डिस्चार्ज गरिएको थियो ।