जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार १४:३७

उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै कोरोन रोकथामको उपयुक्त विकल्प : प्रधानन्यायाधीश


काठमाडौं, बैशाख २६ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले कोरोना महामारीमा न्यायसम्बन्धी छुट्टै विधिशास्त्रको विकास गर्नुपर्ने आवश्यकता महसुस भएको जानकारी दिनुभएको छ । कानुन दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश जबराले कोरोना महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको जनाउँदै यस्तो धारणा राख्नुभएको हो ।

‘सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले ‘प्यान्डेमिक जस्टिस’ सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ,’ प्रधानन्यायाधीश जवराले भन्नुभएको छ । देश–विदेशमा कोरानाबाट संक्रमित भएका नेपालीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानन्यायाधीश जवराले न्याय क्षेत्रमा कोरोनाको प्रभावलाई बाध्यताका रुपमा बुझिदिन आग्रह गर्नुभएको छ ।

हरेक वर्ष वैशाख २६ गते कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले औपचारिक समारोह आयोजना गर्दै आएकोमा लकडाउनका कारण आज कार्यक्रम स्थगित भएको छ । प्रधानन्यायाधीशले आफ्नो सन्देशमा यस कुराको समेत जानकारी गराउनु भएको छ । स्वतन्त्र न्यायालय र विधिको शासनका लागि आफू प्रतिबद्ध रहने प्रतिबद्धतासमेत पनि उहाँले व्यक्त गर्नुभएको छ ।

यस्तो छ प्रधानन्यायाधीश जवराको शुभकामना सन्देश

सर्वप्रथम ‘कानून दिवस, २०७७’ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । नेपाल प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसको रूपमा मनाइँदै आएको कुरा सर्वविदितै छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपुर्याउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूका योगदानको स्मरण गर्दै आजको यस विशेष दिनमा उहाँहरूप्रति हार्दिक सम्मानसमेत व्यक्त गर्दछु ।

न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपुर्ण भूमिका खेल्दै आएको छ । न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु । त्यसमा कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म यस अवसरमा स्पष्ट गर्न चाहन्छु । आजको दिनमा हामी सबैले आ–आफ्नो तहबाट गर्नुपर्ने प्रण पनि त्यही नै हो भन्ने मलाई लाग्दछ । यसबाट नै कानून दिवसप्रतिको वास्तविक सम्मान र दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ । सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्यायपद्दतिको स्थापना र विकास गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वाससमेत मैले लिएको छु ।

हामी अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेका छौँ । कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेको र २ लाख ५० हजारभन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नु परेको दुखद् अवस्था हाम्रा सामु छ । आजको यस विशेष दिनमा कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु ।

औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डहरूको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि म यहाँ स्मरण गराउन सान्दर्भिक ठान्दछु ।

महामारीको प्रभाव स्वभावत: न्याय क्षेत्रमा पनि परेको छ । नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले सङ्कुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका छन । यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न पनि सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु । सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले ‘Pandemic Justice’ सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ ।

महामारीको कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एक आपसमा शुभकामना आदान प्रदान गरी यस वर्षको कानून दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु । कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

चोलेन्द्र शम्शेर जबरा

प्रधान न्यायाधीश