जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार १८:४५

सूदुरपश्चिम प्रदेश कोरोनामुक्त : पाँचौं संक्रमित महिला पनि निको भएर घर फर्किइन्


धनगढी, बैशाख २६

सूदुरपश्चिम प्रदेश आजबाट कोरोनामुक्त भएको छ । पाँच जना संक्रमित भेटिएमध्ये सबैजना निको भएर घर फर्किएका छन् । पाँच जना संक्रमित मध्ये आज अन्तिम एक महिला पनि निको भएर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी–५ की कोरोना संक्रमित महिला उपचारपछि घर फर्कनु भएको हो । अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले उनको पछिल्लो दुई रिपोर्ट २४ घण्टाभित्र लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

यसअघि उनको देवरमा कोरोना संक्रमण देखिएको थियो। उनी दुबईबाट आएका थिए। कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी यसअघि डिस्चार्ज भइसकेका छन् । उनीमार्फत् नै ती महिलालाई पनि संक्रमण भएको थियो । सुदूरपश्चिममा वैशाख १ गते पछिल्लो पटक कोरोनाको संक्रमण देखिएको थियो ।