जनता टाइम्स

२७ बैशाख २०७७, शनिबार ०८:३९

थप सात जनामा कोरोना, संक्रमित संख्या १०९ पुग्यो


काठमाडौं, बैशाख २७ । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । आज सात जना थप कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नयाँ कोरोना संक्रमित उदयपुर, कपिलवस्तु र पर्साका हुन् । उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन ।