जनता टाइम्स

२७ बैशाख २०७७, शनिबार १५:३८

भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति (बिज्ञप्तीसहित)


काठमाडौं, बैशाख २७ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको भन्दै परराष्ट्रमन्त्री मन्त्रालयले कडा आपत्तिसहित आज बिज्ञप्ती जारी गरेको हो ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । भारतको यो ज्याद्धतीको नेपालमा चर्काे विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयको बिज्ञप्तीमा उल्लेख छ । भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमतिको विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयले भनेको छ, नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।’

नेपालले दुई देशको थाती रहेको समिा विवाद कूटनीतिक सम्वादबाट हल गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि नेपालले दुईपटक विदेश सचिवस्तरीय बैठकको मिति प्रस्ताव गर्दा पनि भारतले जवाफ नदिएको मन्त्रालयले बताएको छ । साथै नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न नेपाल तयार रहेको मन्त्रालयले जनाएको छ । यसले लामो समयदेखि थाती रहेका मुद्दा सम्बोधन गर्दै दुई देशको सम्बन्ध मजबुत बनाउन मदत गर्ने नेपालको विश्वास छ ।