जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १०:२८

उदयपुरको भुल्केमा देखियो थप एक जनामा कोरोना संक्रमण : सदरमुकाम गाइघाट पनि त्रास र जोखिममा


उदयपुर, बैशाख २८ । उदयपुरको भुल्केका थप एक महिलामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा भुल्के निवासी ४३ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थप एक जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना संक्रमण बढ्दै जान थालेपछि स्थानीयले स्वाब परीक्षणलाई गति दिन आग्रह गरेका छन्। बस्तीमा रहेका ३ सय १५ परिवारका एक हजार पाँच सय जनामै स्वाब परीक्षण गरिदिन आग्रह गरेका हुन।

आधाजसो मानिसको स्वाब परीक्षण गर्न बाँकी नै रहेकाले तत्काल परीक्षण गरी त्रासमुक्त वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन्। स्थानीय राजन राउतले भन्नुभयो, ‘एउटै बस्ती भएकाले हिजो आउजाउ, विभिन्न सामान ओसारपसारमा प्रत्यक्ष रूपमा सबैको संलग्नता रहेकाले सबैको परीक्षण हुनुपर्छ।’ आफ्नो शरीरमा कोरोना छ कि भन्ने सबैमा त्रास भएको स्थानीयको भनाई छ ।

कोरोना संक्रमित ३२ जनामध्ये १४ जना उपचारपछि घर फर्किएका छन्। भारतबाट आएका १२ जना जमाती र विराटनगरका ४ जनामा कोरोनो पुष्टि भएसँगै फैलिएको संक्रमण २८ जनामा पुगेर दुई सातायता स्थिर बनेको थियो। तर शनिवार (हिजो) र आज पुन थपिएका हुन ।

वैशाख ५ गतेबाट सुरु भएको संक्रमणले आजसम्म आइपुग्दा ३२ जना पुगिसकेको छ। संक्रमण देखापरेसँगै उपचारका लागि लगिएकामध्ये १४ जना सामान्य उपचारपछि फर्किएका छन्। पहिलो चरणमा ६ जना र दोस्रो चरणमा ८ जना गरी १४ जना उपचारपछि फर्किएका हुन्।

सदरमुकाम पनि त्रास र जोखिममा

संक्रमित क्षेत्र सदरमुकाम गाईघाटदेखि तीन किलोमिटर पर दूरीमा छ। आउजाउका हिसाबले नजिकको बस्ती रहेको र बजार क्षेत्रमा मस्जिद रहेकाले गाईघाटबासीमा त्रास फैलिएको छ। संक्रमित एकै घरका तीन व्यक्ति सदरमुकाम गाईघाट बजारको मुख्यचौकका व्यापारी रहेको र अधिकांश तरकारी, दूध संक्रमित बस्तीबाट आउने गरेकाले गाईघाट बजारमा त्रास मात्र छैन जोखिम पनि उत्तिकै छ। स्थानीयमा तरकारी र दूध बिक्री गर्दा सरेको हुन सक्ने भन्दै आशंका उत्पन्न भएको छ। बजार क्षेत्रभित्रै मस्जिद रहेकाले त्यहाँसमेत आउजाउ भएकाले अझ बजारबासी त्रसित भएका हुन्।