जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १८:१७

लकडाउनकै समयमा मुम्बई र कानपुरबाट आएका थिए रुपन्देही-कपिलवस्तुका नयाँ कोरोना संक्रमित


बुटवल, बैशाख ३० । पिसिआर परीक्षणमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना नै भारतको मुम्बई र कानपुरबाट आएको तथ्य खुलेको छ । रुपन्देहीकोलुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा उनीहरु लकडाउनकै समयमा लुकीछिपी भारतबाट आएको पाइएको हो ।

संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं ७ का २ जना, वडा नंं ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेर समुहका पुरुष हुन् । स्थानीय प्रशासनका अनुसार उनीहरू सवै लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । उनीहरु दशगजा क्षेत्रबाट सुरक्षाकर्मीको आँखा छलेर आठ दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए । नगर प्रमुख मनमोहन चौधरीका अनुसार उनीहरूलाई लुम्बिनीस्थित श्रीलंकन गेस्ट हाउसमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

यसअघि सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिकाकै वडा नंं १ र ४ का एक–एकजनामा कोरोना संक्रमण देखिएको थियो । दुवै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासको क्वारेन्टाइनमा थिए । यस्तै कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय युवक र सम्मरीमाई गाउँपालिकाका चार जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार थपिएका संक्रमितसँँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

यस्तै, कपिलवस्तुमा आज थपिएका ८ जना कोरोना संक्रमित सदरमुकाम तौलिहवा र आसपासका हुन् । कपिलवस्तु नगरपालिका वडा नं १ कि २५ वर्षीया महिला, वडा नं ३ का २०, ३२ वर्षका २ जना पुरुष, वडा नं ४ का २५ वर्षीय पुरुष, वडा नं ५ का ३६ वर्षीय पुरुष, वडा नं ६ का १९ वर्षीय पुरुष, वडा नं ७ का १९ वर्षीय पुरुष र वडा नं ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कपिल्बस्तुको यशोधरा गाउँपालिका वडा नं। ५ का ८ र वडा नं। ८ का ४ जना, बुद्धभूमि नगरपालिका वडा नं ७ का ३, वडा नं १० का १ जना, मायादेवी गाउँपालिकामा चार जना र शुद्धोधन गाउँपालिकामा एक जनामा गरी कुल २९ जना कोरोना संक्रमित पुगेका छन् । कपिलवस्तुमा कोरोना संक्रमितहरू पनि भारतको मुम्बई र नयाँदिल्लीलगायतका सहरबाट लकडाउनकै अवधिमा लुकिछिपी जिल्ला प्रवेश गरेका थिए । कोरोना संक्रमित बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ ।