जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार १५:४५

जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन हुने, जोन तोकेर लागु गराउने तयारी


काठमाडौं, जेठ १

सरकारले ५३ दिनदेखी जारी लकडाउनको मोडालिटी परिवर्तनको तयारी गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिको शुक्रबार बसेको बैठकले विज्ञहरुसँग छलफल गरेर जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो । जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उहाले बताउनु भयो ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय पनि गररेको छ । सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आईडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको बताउनु भयो ।