जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार ०५:५०

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा


काठमाडौं, जेठ ३ । सरकारले दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरी सडक नै बनाएपछि सरकारले यस्तो घोषणा गरेको हो ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गर्नुभयो । ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको निर्णय अनुसार सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्ने महत्वपूर्ण विषय समावेश गरेको हो । नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेकपा सचिवालय बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

नेपालमा लामो समयदेखि लिम्पियाधुरा, कालापानी र लिपुलेकबिनाको देशको नक्सा प्रचलनमा छ । अव नयाँ नक्सा जारी गरिने छ । सांसदको लोगोलगायत महत्वपूर्ण ठाउँमा अब नयाँ जारी हुने नक्सालाई समावेश गरिनेछ ।