जनता टाइम्स

३ जेष्ठ २०७७, शनिबार २२:२९

कोरोनाबाट मृत्यु भएकी महिला : धुलिखेल अस्पताल लैजानु भनि रेफर गरेको विरामी घर लगेपछि…


काठमाडौं, जेठ ३

सिन्धुपाल्चोककी महिलालाई जेठ १ गते बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रले धुलिखेल अस्पताल रेफर गरेपनि आफन्तले घर लगेको खुलेको छ । टिचिङ अस्पतालमा बच्चा जन्माएपछि उनि बाह्रबिसेस्थित घर पुगेकी थिइन् ।

घर फर्केको केही दिनपछि उनलाई उच्च ज्वरो आएको थियो । श्वासप्रश्वासमा पनि समस्या देखिएपछि १ जेठ बिहान उनलाई परिवारले बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहा उनलाई केही प्राथमिक उपचार गरेपछि कोरोनाको आशंकामा कोरोना अस्पताल धुलिखेल पठाइएको थियो । तर, परिवारका सदस्यले उनको स्वास्थ्य राम्रो हुन थालेको भन्दै घर लिएर गएका थिए । केन्द्रकी मेडिकल अधिकृत डा. निशान्त शर्माका अनुसार स्वास्थ्य केन्द्रमा आइपुगेपछि उनले आफू डाक्टरले दिएको समय भन्दा एक महीना चाँडै सुत्केरी भएको बताएकी थिइन् ।

‘उहाँ १ जेठको बिहान स्वास्थ्य केन्द्रमा आउनु भएको थियो । ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएको बताएपछि हामीले आरडीटी परीक्षण गरेका थियौ‌ं । त्यसको नजितामा कोभिड–१९ नेगेटिभ देखिएको थियो’, उहाले भन्नुभयो, ‘छातीको एक्स–रेमा भने खराबी देखियो । मुटुको चालमा पनि केही खराबी थियो । सबै परीक्षण गरेपछि हामीले उहाँलाई धुलिखेल अस्पताल रेफर गरेका थियौं ।’

धुलिखेल अस्पताल रेफर गरे पनि आफन्तले भने उनलाई त्यहाँबाट घर लिएर गएको खुलेको छ । स्थानीयले दिएको जानकारी अनुसार उनलाई सो दिन अस्पताल लिएर जाने र आउने बेला प्रयोग भएको गाडीमा स्थानीयबासीन्दा पनि चढेको थिए । सो गाडीमा थुप्रै स्थानीयबासी पनि चढेर बाह्रबिसेबाट गाँउ आएका थिए भने बाह्रबिसे जाने बेला पनि उत्तिकै सख्यामा रहेको स्थानीयबासीले जानकारी दिएका छन् ।

यसैबीच, काठमाडौंमा तरकारी पसल सञ्चालन गर्दै आएकी ती महिला बालाजुमा बस्ने गरेको पनि खुलेको छ । बालाजुमा तरकारी पसल सञ्चालन गरेकी उनि गर्भवती भएर गाह्रो भएपछि दुई महिना अगाडीबाट छाडेकी थिइन् । उनका श्रीमान नेपाली सेनाको जागिर छाडेर अहिले सेक्युरेटी गार्डको काम गरिहेको थाहा पाएको बाह्रविसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले टेलिफोनमा जानकारी दिनुभयो ।

मृतक महिलासहित एक छोरा, श्रीमान र सासु उनीहरूको परिवारमा रहेको उपप्रमुख पाख्रिनले जानकारी दिनुभयो । भर्खरै जन्मिएको बच्चा, उनका श्रीमान र सासु भने अहिले धुलिखेल अस्पतालको आइसोलेसनमा छन् । उनको आजै राति उच्च सतर्कताका साथ पशुपतिको शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।