जनता टाइम्स

४ जेष्ठ २०७७, आईतवार १५:५४

लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा तयार : मन्त्रिपरिषदमा लैजादै मन्त्री अर्याल


काठमाडौं, जेठ ४ । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार पारेको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालको पहलकदमीमा नापी बिभागले नयाँ नक्सा तयार पारेको हो ।

सरकारले भारतले अतिक्रमण गरेको भूभागसहितको नयाँ नक्सा जारी गर्न लागेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषद बैठमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गर्नुभएको हो । भूमि मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै थियो । यसबीचमा भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको थियो । तर भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपालमाथि दवाव परेको हो ।

सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश दिनुभएको थियो । विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।

नापी विभागले तयार पारेको नक्सालाई मन्त्रिपरिषदले पारित गरेपछिमात्र सार्वजनिक गरिने छ । नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक,कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने छ । नेपालको हाल प्रचलनमा रहेको नक्सामा लिम्पियाधुरा छैन । लामो समयदेखि सो भूभाग नरहेको तर अहिलेको सरकारले त्यो सहित समेटेर नयाँ नक्सा जारी गर्न लागेको हो । नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन ।

सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कुटनीतिक पहल अघि बढाइसकेको छ । मन्त्री अर्यालले नक्साको बिषयमा मन्त्रालय तयारी अवस्थामा रहेको जनताटाइम्सलाई बताउनु भयो । ‘हामी तयारी अवस्थामै छौं, मन्त्रालयको तहमा गर्नुपर्ने सवै काम भइसकेको छ,’ मन्त्री अर्यालले भन्नुभयो ।