जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार १६:४७

५३ जना नयाँ संक्रमित भेटिए, संक्रमणको संख्या बढ्दै


काठमाडौं, जेठ ५

बाँकेमा ४७ सहित आज एकैदिन ५३ जना नयाँ संक्रमित फेला परेका छन् । बाँकेसहित मोरङ, गुल्मी, धनुषा, दाङ, रौतहट र धादिङमा एक÷एक जना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा थप ५३ जनामा संक्रमण भएको बताउनु भयो । यससँगै संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेका संक्रमितमध्ये ४६ जना पुरुष र एक महिला छन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्यत्रका थप ६ जना संक्रमित सबै पुरूष हुन् । यद्यपी उनिहरुलाई जिल्लामै लागेको हो कि बाहिर भनेर खुलाइएको छैन ।

मोरङको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणबाट मोरङका संक्रमित पत्ता लागेका हुन्। त्यस्तै भैरहवाको प्रयोगशालाबाट गुल्मीका र धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणबाट धनुषा, रौतहट, दाङ र धादिङका संक्रमित पत्ता लागेका हुन् । संक्रमितमध्ये २९८ जना पुरूष र ५९ जना महिला रहेका छन् । ३६ जना उपचारपश्चात कोरोनामुक्त भएका छन् ।