जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार १६:५२

बाँकेका सबै संक्रमित मृतक युवाको गाउँपालिका नरैनापुरका रहेको खुल्यो


काठमाडौं, जेठ ५

बाँकेको नरैनापुर गाउँपालिकामा ४७ जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएको छ । कोरोना भाइरस परीक्षणका लागि नरैनापुर गाउँपालिकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ कै कारण आईतबार एक युवकको क्वारेन्टाईनमा मृत्यु भएको थियो । त्यसअघि गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण भेटिएपछि उपचारका लागि दाङको बेलझुण्डी अस्पतालको आईसुलेसनमा राखिएको छ ।

८ जनामा कोरोना पुष्टि भएपछि नरैनापुरका २ सय ७३ को स्वाब संकलन गरिएको थियो । ती मध्ये १ सय १९ जनाको परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एउटै पालिकामा संक्रमितको संख्या ५५ पुगेको छ । ८१ जनाको स्वाब नेपालगञ्जको भेरी अस्पतालमा परीक्षण भइरहेको छ ।

एउटै पालिकामा संक्रमितको संख्या बढेपछि रेडजोन क्षेत्र घोषणा गर्न माग गरिएको छ । ठूलो संख्यामा संक्रमित भेटिएपछि पालिकाभरी जाँचको दायरा बढाउन माग गरिएको छ । नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । जसमा १३ वटा स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।