जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार २३:०७

यस्तो छ ओली सरकारले जारी गरेको नेपालको नक्सा


काठमाडौं, जेठ ५ । सरकारले ऐतिहासिक निर्णय गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेरनयाँ नक्सा जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले आइतबारको मन्त्रिपरिषद बैठकमा यो नक्सा प्रस्तुत गर्नुभएको थियो । भूमि व्यवस्था मन्त्रालयले यो नक्सा तयार पारेको हो ।

सरकारका प्रवक्ता अर्थ तथा सूचना एवं सञ्चार मन्त्री डा. युवराज खतिवडाले यो नक्सामा अतिक्रमित भूमि समावेश गरिनुका साथै यसले सातै प्रदेश र ७७ वटै जिल्लालाई छुट्याइएको जानकारी दिनुभयो । मन्त्री खतिवडाले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नक्सा नै प्रयोग हुने बताउनु भयो । सरकारले औपचारिक रुपमा यो नक्सा जारी गरिसकेको भने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदमा सम्बोधनपछि यो नक्सा जारी गरिने एक मन्त्रीले जनताटाइम्सलाई बताउनु भयो ।

भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा समेटेको थियो । पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो । सरकारले नीति तथा कार्यक्रममै अतिक्रमित भूमिसहितको नक्सा जारी गर्ने घोषणा गरेको थियो । सोही घोषणाका आधारमा आज नक्सा पारित गर्ने ऐतिहासिक निर्णय मन्त्रिपरिषदले गरेको हो ।