जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार ००:००

सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नक्सा जारी गरिएको हो : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं, जेठ ९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूभाग अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्न नेपाल तत्पर भएर बसेको प्रष्ट पार्नुभएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले द्विपक्षीय संवादका लागि प्रत्यक्ष–परोक्ष रूपमा भारतसँग आग्रह गरिरहेको जानकारी पनि दिनुभएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरी उदघाटनसमेत गरेपछि नेपाल सरकारले बुधबार नयाँ नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यसलाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै परराष्ट्रमन्त्री ज्ञवालीले सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा जारी गरिएको बताउनु भयो ।

‘अहिले उब्जिएको समस्यालाई वार्ता र संवादको उपायबाट निरूपण गर्न तत्पर छौं, वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, हाम्रो आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो ।’ सीमा विवादको पछिल्लो चरणमा नेपालले प्रस्ताव गरेपनि भारतले कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको थियो । ‘ हामी तत्कालै वार्ता गर्ने पक्षमा छौं । यो समस्या सुल्झाउन संवादभन्दा पर्तिर अर्को उपाय छैन,’ मन्त्री ज्ञवालीले भन्नुभयो ।