जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १२:१२

२१ संक्रमित निको भएर घर फर्किए : ‘ठुलै युद्ध जितेजस्तो लाग्यो’


नेपालगञ्ज, जेठ ९

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २१ जना संक्रमित निको भएका छन् । उनिहरुले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

२७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ भेटिएपछि शुक्रबार विहान डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा पहिलो पटक संक्रमित भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको अस्पतालले जानकारी दिएको छ ।

आइसोलेसनबाट डिस्चार्ज भएपछि सबै उत्साहित बनेको प्रतिक्रिया दिएका छन् । घर जाने खुसीमा ३७ वर्षीय व्यक्तिले कोरोना संक्रमण र आइसोलेसनको अनुभवबारे भन्नुभयो, ‘आइसोलेसनमा बस्नु भनेको आफू पनि सुरक्षित हुनु र अरुलाई पनि बचाउनु रहेछ । घर फर्किन पाउने भएकाले ठूलै युद्ध जिते जस्तै महसुस गरेको छु ।’

उहाँहरु दुई हप्ता पहिलेदेखि अस्पतालमा उपचारका लागि भर्ना हुनु भएको थियो । अब उक्त अस्पतालमा बाँकेका एक सहित ७ जना मात्र कोरोना संक्रमित उपचार गराइ रहनुभएको छ । यो सहित अस्पतालबाट डिस्चार्ज हुनेको सख्या ७० पुगेको छ ।