जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १४:११

तथ्य-प्रमाणले भन्छ : भारतको दावी शतप्रतिशत गलत छ, लिम्पियाधुरा नै काली नदीको मुहान हो


काठमाडौं, जेठ ९ । नेपालले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियादेखि सत्तारुढ दलका नेताहरुसम्म नेपाल बिरुद्धखनिएका छन । सुगौली सन्धिदेखि प्राप्त तथ्यहरुले भने भारतले नेपाली भूमिमा अतिक्रमण गरेको प्रष्ट देखाएको छ । स्वयं भारत आफैले जारी गरेको नक्सामा समेत लिम्पियाधुरा नेपाली भूभाग देखाउँछ ।

सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी भनी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ । स्वयं भारतकै राजपत्रमा समेत सोभूभाग नेपालको भन्ने प्रष्ट गरिसकेको देखिन्छ । लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त रहेको इतिहासकारहरु बताउँछन ।

इतिहासकार प्राडा रमेश ढुङ्गेलका अनुसार इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन् । सन् १९११ को भारतीय अभिलेखमा पनि काली नदी कुन हो भनेर त्यो क्षेत्रको स्पष्ट व्याख्या गरिएको छ । ब्रिटिस लाइब्रेरी, विश्वका अन्य मुलुकमा रहेका नक्सा, भारतीय अभिलेखालयमा संरक्षित तथ्यहरूलेपनि यही देखाउँछ । ‘ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको त्यो क्षेत्र नेपालको हो,’ ढुंगेलले भन्नुभयो । उहाँले ब्रिटिस लाइब्रेरीमा छ वर्ष काम गर्दा महत्वपूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरू अध्ययन गरेको भन्दै सवै तथ्यले सो भूमि नेपालकै रहेको बताउनु भयो ।

पछिल्लो समय सुगौली सन्धि हुनुभन्दा अगाडिको स्केच म्याप पनि पाइएको छ । ढुंगेलका अनुसार इस्ट इन्डिया सरकारले छापेको सन् १८२७ को नक्सा र त्यसपछि सन् १८५६ सम्म छापिएका आधिकारिक नक्सामा लिम्पियाधुराबाट पूर्व बग्ने नदीलाई काली भनिएको छ । प्रमाणहरुमा सन् १८५६ सम्मका नक्सामा काली नदीलाई लिम्पियाधुरा अथवा जोलिङघाङ पश्चिमबाट दक्षिण–पूर्वतर्फ बगेको नदीलाई काली नदी भनिएको छ । सन् १८५६ अघिका नक्सामा लिम्पियाधुराको पश्चिमबाट दक्षिण–पूर्वतर्फ भएर कुटी, नाभी, गुञ्जी गाउँहरू हुँदै बग्ने नदीलाई काली नदी भनिएको छ । यो काली नदीलाई स्थानीय भाषामा कुटियाङ्ती भनिन्छ । तर भारतले सन् १८५६ भन्दापछिका नक्सामा पश्चिमबाट आएको नदीलाई काली लेख्न छाडेर कुटियाङ्ती भन्न थालेको थियो ।

त्यसो त लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण खोज्न अन्त कहीँ जानुपर्दैन, भारतले नै गत २ नोभेम्वर अर्थात २०७६ कात्तिक १६ गते जारी गरेको नक्साले नै कालीनदी लिम्पियाधुराबाट आएको स्पष्ट देखाएको छ । यो नक्सा सर्भे अफ इन्डियाको वेबसाइटमा आठौँ संस्करणको रूपमा अहिले पनि छ । त्यस्को ६ दिनपछि ८ नोभेम्बर अर्थात कात्तिक २२ गते नक्सा संशोधन गरेर भारतले कालीनदी मेटाएको छ 

“पूर्व–दक्षिणबाट बग्ने लिपुखोलालाई काली लेखेर झुक्याउने कामभयो, ढुंगेलले भन्नुभयो । सन् १८१७ मा नाभी, कुटी, गुञ्जीका गाउँले ब्रिटिस इन्डियातिर बस्न पाउँ भनेर दिएको निवदेनबारे इस्ट इन्डिया कम्पनीले गरेको सुनुवाईमा समेत नाभी, कुटी र गुञ्जी गोर्खाको अधिनमा रहेको स्पष्ट किटान गरिएको छ । त्यसो त काली पूर्वको भाग गोर्खाको अधिनमा रहेको भन्ने व्यहोरासहित बम शाह र राजदूत गार्डनरलाई इस्ट इन्डिया कम्पनीले लेखेको पत्र को अहिले पनि ब्रिटिस लाइब्रेरीमा सुरक्षित छ । ‘यो हाम्रो दावी पनि हो र तत्कालीन इस्ट इन्डिया कम्पनीको निर्णय पनि हो,’ इतिहासकार ढुङ्गेलले भन्नुभयो ।

त्यसो त लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण खोज्न अन्त कहीँ जानुपर्दैन, भारतले नै गत २ नोभेम्वर अर्थात २०७६ कात्तिक १६ गते जारी गरेको नक्साले नै कालीनदी लिम्पियाधुराबाट आएको स्पष्ट देखाएको छ । यो नक्सा सर्भे अफ इन्डियाको वेबसाइटमा आठौँ संस्करणको रूपमा अहिले पनि छ । त्यस्को ६ दिनपछि ८ नोभेम्बर अर्थात कात्तिक २२ गते नक्सा संशोधन गरेर भारतले कालीनदी मेटाएको छ ।