जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार १५:०१

अमेरिकाबाट गृहजिल्ला कपिलवस्तुसँग कोरोना अनुभव साटदा


पहाडी जिल्लाका लेक लाग्ने क्षेत्रतिर बाक्लो जुका लाग्ने गर्दछ । त्यहाका किसानले खेतिपाती गर्दा खुट्टादेखि शरिरका भागमा लागेको जुका फालेर जसरी खेती गर्दछन त्यसैगरी कोरोनालाई जितेर ज्यान बचाउनु र परिबार बचाउनु पर्दछ । मुखमा मास्क लगाऊँ, हातमा पन्जा लगाऊँ वा नाक मुखमा हात लानु अघि राम्रोसँग धुने गरौं । तातोपानी पिऊँअनि कोरोनालाइ परास्त गरेर जिऊँ

कपिलबस्तु जिल्लाको बुद्धभूमी नपा वडा नं ४ स्थित गेलवार डाबर मेरो गाउँ हो । २०४५ सालमा उक्त गाउँमा पहिलो घर बनाएर बस्ने र गाउँ बसाउनेमा पहिलो नम्बरमा मेरो नाम आउँछ । एक बर्षसम्म एक घर रहेको घरबाट शुरु मेरो गाउँ अहिले करिब ६०,७० घर भएको समृद्ध गाउँ बनेको छ । गाउँ जिल्ला कै नमुना छ । पक्की बाटो, बिजुली, सिचाई, स्कूल, आदि भौतिक पुर्वाधार बिकाश र जनताले बेमौसमी तरकारीदेखि अन्य कृषकहरुको आय आर्जनको हिसाबले राम्रो बनाएका छौं। यी बिकाश गर्नमा गाउँका साथीहरुले म बिदेश भए पनि बेला बेलामा सम्झिने गर्नुहुन्छ ।

हाल म बिदेशी भुमिमा बसेर जिबिकोपार्जन गरिरहेको छु । तर पनि मेरो मन मस्तिष्कमा गाउँ नै घुमिरहेको हुन्छ । राती सपनामा पनि म गाउँ मै हुन्छु । मेरो कपिलवस्तु बसाइँको २१ बर्ष बिद्यालयमा अध्यापनदेखि, सामाजि,क राजनैतिक गतिबिधिमा सकृय थिएँ । समाजमा काम गरेको त्यो कामको लत मलाइ बिदेशमा पनि लागेको छ । म बिदेश आइसकेपछि म बस्ने शहरमा रहेको नेपालीहरुको संस्थामा बसेर काम गरें । केही बर्ष काम गरेपछि साथीहरुले संस्थाकै नेतृत्वमा पुर्याउनु भयो । करिब ४ बर्ष सामाजिक संस्थाको नेतृत्व लिएर गतिबिधिमा सकृय नै छु ।

विश्वब्यापी संकट शृजना गरेको कोरोनाको कहरलाई कम गराउन म बसेको ठाउँमा नेपाली समुदायलाई कसरी कोरोनाबाट बचाउने भन्ने हेतुले करिब एक दर्जन संस्थाहरुले संयुक्त रुपमा कोरोनासँग लड्ने भन्ने उद्धेश्यका साथ मेरो नेतृत्वमा एक समिति गठन गरेको थियो । सानोतिनो र अन्य गरी हामीले आधा हजार मान्छेलाई प्रत्यक्ष सहयोग पुर्याएका छौं । कोरोना कति लामो जान्छ अझै केही भन्न सकिन्न । सबैजसो नेपाली समुदायलाई घर मै बस्नुस भनेर सिकाए पनि मलगायत केही साथीहरु नेपाली समुदायसँगको सम्पर्कमा बाहिर पनि हिडछौं। हामी बस्ने टाउन प्लानिङ्गभित्रकै बिल्डिङ्गमै कोरोनाका बिरामी छन । शुरुमा केही हजार मात्र कोरोना भित्रिदा डरले काम छोडेर लकडाउनमा घरभित्रै बसेका हामी अब म बस्ने शहरमा मात्र करिब १ लाखको संक्रमण र २० हजारको मृत्युु भएको अवस्थामा अब काम खोज्दै बाहिर शहर निसक्नु पर्ने बाध्यता छ । करिब ३ महिना काम छोडेपछि अब केही दिनमा चुलो बल्दैन । मर्ता क्या नहि कर्ता भन्ने उखान छ । खान नपाएर मर्नु भन्दा उसले बाँच्नको लागि धेरै प्रयास गर्दछ नै ।

हुन त राष्ट्रपति महोदयले नै शुरुमा भनेको वाक्य हो, अमेरिका लकडाउन गर्न बनेको मुलुक होइन, काम गर्ने मुलुक हो । उनले यो शब्द त्यसै बोलेका रहेनछन । दुई ट्रिलियन डलरको राहत घोषणा गरेका राष्ट्रपतिले यहाका कागजपत्र भएका गरिखाने मान्छेको लागि करिब ७.५ प्रतिशतत खर्च गरेका छन। नागरिकलाई (१२००डलर) को भुक्तानी गरेपछि बाकी रकम ठुला उद्योगपति र धनाढ्य बर्गको लागि खर्च गरे । निर्वाचनको लागि ट्रम्पलाई २७०० डलर चन्दा दिएका एक जहाज कम्पनीका मालिकका खातामा २७ मिलियन डलरको भेटी चढाई दिएको प्रत्यक्ष देखियो । सयौं कम्पनीहरुले सहयोग पाएर कोरोनालाई बर्दान साबित पनि बनाएका छन ।

अमेरिका जस्तो बैभवशाली र ठूलो अर्थतन्त्र भएको देश कोरोनाको कहरका कारण निकै ठूलो संकटमा फस्ने भएको छ । करिब ५ करोड भन्दा बढीको रोजगारी गुम्ने चिन्ता यहाँका अर्थ तथा योजनाबिदहरुले बताएका छन । युरोप पनि आर्थिक संकटको चपेटमा पर्ने निश्चित छ नै । यस्ता देश त समस्याको गहिरो चपेटामा फस्ने भए भने नेपाल झनै नफस्ने त कुरै भएन । कपिलवस्तु मेरो जिल्ला हो ।आजको मितिसम्म कपिलवस्तु देशकै धेरै कोरोना उत्पादन गर्ने जिल्लाको रुपमा करिब ६९ जना संक्रमित भएको खबर सुनेपनि म डराएको छैन तर मेरा आफन्त साथीभाई डराएको देखेको छु । वर्षा शुरु हुने अवस्थामा छ । धान खेती गर्न ब्याड राख्ने बीउ उमार्ने र रोपाई गर्न खेत बारिमा निस्कनै पर्दछ ।

अबको दिनमा कोरोनाबाट कसरी बाँच्ने विषयमा केही सुझाउन बुझाउन चाहन्छु :

१. कोरोना भाइरस अलि कडा खालको रुघाखोकी ज्वरो आउने सरुवा रोग हो भन्ने बुझौं । यसलाई एक्लै जित्न मुस्किलले सकिन्छ । परिवारको सहयोगले सजिलै जितिन्छ । न्युयोर्कमा भएको मेरो भाई सरगम भट्टराईले कोरोनालाई दुःखले एक्लै जितिसकेका छन ।

२. यसको संक्रमण मलाई पनि लाग्छ भन्ने अनुमान गरौं । किनकी अब इन्डिया खुलिसकेपछि नेपालमा यसको संक्रमणको दायरा फराकिलो हुन्छ । दायरा फराकिलो भएपछि राज्यले हात ठाडो गराउछ । हामीसँग भएको जनशक्तिले काम गर्न छोड्छ ।

३. परिवारको सबैलाई आक्रमण नगर्न पनि सक्दछ । बिरामी हुने शंका लागेमा आफैले धेरै ब्यायाम गर्ने र परिबारका सदस्यले दबाई पानी सहयोग गर्दा सजिलै जित्न सकिन्छ ।

४. खेतीपाती गर्ने समय शुरु भएको छ । जेष्ठको पहिलो हप्तादेखि धानको ब्याड राख्ने बेला भयो । असारमा रोपाई गर्न बिउबिजन र खाद मलको ब्यबस्थापन गर्नै पर्दछ । यसको लागि गाउले सबै मिलेर २, ४ पिस पिपिए किन्ने । बीउ मल किन्नको लागि बजार जाँदा लगाउने । दुई दिन राम्रोसँग घाममा सुकाएपछि तेस्रो दिन सफा गरेर अर्कोले पनि प्रयोग गर्न मिल्छ होला ।

५. बेलैमा धानको ब्याड लगाउनै पर्दछ । राज्यले पाल्ला भन्ने आषा मात्र गर्नु भयो भने भोकै पर्नुहुन्छ । पैसो राज्यले दिएछ भने पनि किन्ने सामान र स्थान त हुनु पर्यो नि ।संसारभर कोरोनाको प्रकोप छ । छिमेकी भारत नेपालमा भन्दा अझ पिडित हुने छ ।बिगतमा खाडी, मलेशियाबाट श्रीमान छोराले पठाएको पैसाले सामान किन्न त पाइन्थ्यो अब पैसा पनि बिदेश गएकाले पठाउला नै भन्ने छैन ।उ नै फर्कने स्थितिमा हुन सक्दछ । पठाए छ भने पनि सामान कहाँ किन्ने ? भारतमा उत्पादन गरे पनि कोरोनाको डरले व्यापार गर्नेले नगरी दिन सक्दछन, नल्याइदिन सक्दछन ।

६. नेपालमा कोरोनाले चैतको अन्त्य सम्म खासै संक्रमण फैलिएन । भारततिर नेपाल पशुपतिनाथ देउता भएको मुलुक भएकोले कोरोना आएन भन्ने प्रचार भयो । पश्चिम पहाडका र अशिक्षाले दुःखका काम गर्न पुगेका नेपालीहरु नेपालमा कोरोना हुँदैन भन्ने बिश्वासमा परे । नेपाल पुग्न पाए बचिन्छ भन्ने भ्रममा परेर पनि नेपालीहरु घर फर्कने चाहाना राखे । यस्तो कारण नेपाल फर्कदै गर्दा एक अर्कामा छोइएको कारण पनि संक्रमण भयो । कपिलवस्तुमा हाल देखिएका ६९ मध्य ६५ जना १० दिनदेखि २५ दिनभित्र इन्डियाबाट फर्केका ट्राभल हिष्ट्रि देखियो । अबका दिनमा कपिलवस्तुमा निकै ठूलो संख्या पुग्ने निश्चित छ ।

राज्यको दायित्व ः बैशाख महिनाको दोश्रो हप्तासम्म कोरोना नदेखिएको ५ नम्बर प्रदेशमा देखेपछि कपिलवस्तु नै पहिलो नम्बरमा कोरोना देखिने जिल्ला भयो । राज्य भनेको जनताको प्रत्यक्ष शासन गर्ने गराउने स्थानीय तह पनि हो । त्यसपछि प्रदेश सरकार । प्रदेश सरकारले सिमानामा शसस्त्र फौज कपिलवस्तुको बोर्डरमा करिब एक एक किमिको फरकमा राखे पनि रातिमा झुक्याएर पसे । झुक्याएर पसेका पनि हाम्रो सुरक्षा आफ्नै लागि हो भन्दै क्वारेन्टाइनमा बसेनन । क्वारेन्टाइनमा पनि जनतालाई आबश्यक पर्ने भौतिक बस्तुहरुको न्युनतम उपलब्धता चाहिन्छ भन्ने बुझेनन । प्रहरी र कर्मचारीहरु लकडाउन कडा गर्यौ भने कोरोना आउन्न भन्ने बुझे । बाटोमा कामले हिड्नेमाथि पनि लाठी बर्षाएर बसे । नेपाल बन्दमा बन्दकर्तालाई रोके जस्तै गरेमा मात्र दायित्व पूरा हुन्छ भन्ने बुझे । अझ यो बेलामा कहाबाट कमाउन सकिन्छ भन्ने ध्याउन्नमा छन भन्ने खबर सुनिन्छ ।

यता जनता लकडाउनमा श्रीमान श्रीमती पनि सङ्गै बस्न नहुने भन्दै सोसियल डिस्टेन्स कायम गरे । बाहिरबाट कोही न आउदा पनि घरभित्रका परिबार छोइछिट्टो गरे । स्थानीय तहका जनप्रतिनिधिहरु राज्यले कोरोनाका लागि गरेन भन्दछन, राज्य भनेको गाउका लागि हामी नै हौं भन्ने बुझ्दैनन या बुझ पचाउछन । आफुले आफ्नो स्थानीय तहभित्र बनाएका क्वारेन्टाइनको सम्पुर्ण जिम्मा म आफै गर्ने हो भन्ने थाहा नपाए झै गर्दछन र राज्यले गर्नु पर्ने हो भन्दछन । केन्द्रले पठाएको राहत बापतको पैसाबाट स्थानीय तहले शुरुमा बाँडेको राहत खान पुग्नेलाइ पनि बाँडे भन्ने आरोप छ । अबका दिनमा माथिबाट पैसा आउँछ, आउदैन थाहा छैन । जनतालाई अझै ६, ७ महिना पाल्नु पर्दछ भन्ने नबुझेर होकि खाद्य बैंक खोलिएको छैन। खेतपाती गर्ने समय आयो। त्यसको ब्यबस्थापन कसरी गर्ने ? मल बीउ बिजनको ब्यबस्थापन कसरी गर्ने भन्ने योजना र कार्यन्वयन स्थानीय तहले नै हो भन्ने भुलेका छन या बुझ्न चाहदैनन ।

करिब २ बर्ष यसको कोरोनाको कहर राम्रै रहन्छ ।औषधि भ्याक्सिन आउला जस्तो छैन । यस्तो अवस्था नेपालमा मात्र होइन, सन्सारभरी हो । नेपाल कृषिप्रधान देश हो । जहाको माटो पनि मलिलो भएकोले कुनै पनि खाद्यान्नन्न, तरकारी, फलफुल, मसलाजन्य उत्पादनको लागि २ महिनादेखि ४ महिनामा बाली पाक्छ । एक महिनामा धनिया, ४० दिनमा मुला, ६० दिनमा मकै, ९० दिनमा धान, कोदो, ५०,६० दिनमा तरकारी उत्पादन हुन्छ । छत मै तरकारी फलाएर ज्यान पाल्न सकिन्छ बाच्न सकिन्छ । संसारमा त्यस्ता धेरै देश छन जहाँ बालुवा नै बालुवा, पानी नै पानी, सुख्खा नै शुक्खा छ । बिदेशबाट आयत नगरी भात, तरकारी खान पाइन्न त्यसमध्यको अमेरिका पनि एक हो ।

मलाई एउटा अनुभव छ, पहाडी जिल्लाका लेक लाग्ने क्षेत्रतिर बाक्लो जुका लाग्ने गर्दछ । त्यहाका किसानले खेतिपाती गर्दा खुट्टादेखि शरिरका भागमा लागेको जुका फालेर जसरी खेती गर्दछन त्यसैगरी कोरोनालाई जितेर ज्यान बचाउनु र परिबार बचाउनु पर्दछ । मुखमा मास्क लगाऊँ, हातमा पन्जा लगाऊँ वा नाक मुखमा हात लानु अघि राम्रोसँग धुने गरौं । तातोपानी पिऊँअनि कोरोनालाइ परास्त गरेर जिऊँ ।