जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार १२:२१

विदेशमा रहेका नेपालीको उद्धार र बजेटका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक आव्हान


काठमाडौं, जेठ ११

कोरोनाको पछिल्लो अवस्था र बजेटका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा विशेषगरी विदेशमा रहेका नेपालीको कसरी उद्धार गर्ने भन्नेमा केन्द्रीत हुने भएको छ ।

सरकारले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सो विषयमा पनि प्रमुखताका साथ छलफल हुनेछ । कोरोनाका कारण बजेट निर्माणको मोडालिटी परिवर्तन गर्नुपर्ने भएकाले त्यसलगायत समसामयिक विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो ।

कोरोनाका कारण अहिले भारतसहित तेस्रो मुलुकमा नेपालीको ठुलो सख्या उद्धारको पर्खाइमा रहेको छ । यसविषयमा कोरोना उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिमा छलफल भईसकेकाले त्यसविषयमा मन्त्रिपरिषद्मा छलफल गरेर केही महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ । समितिले विभिन्न विकल्प दिएर उद्धार गर्नुपर्ने प्रस्ताव तयार गरेको छ ।

सबैभन्दा पहिलो कोरोनाले निक्कै प्रभावित देशका अति नै अप्ठेरोमा परेका, विरामी र महिला तथा बालबालिकालाई उद्धार गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसविषयमा केही समय अगाडी सम्वन्धित सबै मन्त्रालय र समितिलाई उद्धारको योजना बनाएर मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो ।