बीरगञ्ज, जेठ १२ । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसर (कोभिड १९) लाई जितेर घर फर्कने नेपालीको संख्या बढेको छ ।
आइतवार राती मात्रै कोरोना संक्रमणबाट निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिष्चार्ज हुनेमा वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु रहेका छन । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध रहेको सिंहले जानकारी दिनुभयो ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सवैसदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ती परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो । आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणीमा ४४ जना र गण्डक कोभिड अस्पतालमा २७ गरी ७१ जना संक्रमित उपचाररत छन । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत रहेका छन् ।
आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि शनिबार पनि नाराणी अस्पतालबाट ९ जना डिस्चार्ज भएका थिए । जसमध्ये तीन जना पर्साका, तीन जना रौतहटका, २ जना बाराका र एक जना भारतीय नागरिक थिए ।
वीरगञ्जमा आइतबार रातिसम्म कोरोना निको भएर फर्कने कुल २९ जना रहेका छन् । जसमध्ये वैशाख १४ गते ४ जना (जसमध्ये २ जनामा पुनः संक्रमण देखा परेपछि अस्पताल भर्ना भएका), जेठ १० गते ९ जना (पुनः भर्ना भएकासहित २ जना) र जेठ ११ गते एकै परिवारका १८ जना रहेका छन ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ५ पुगेको छ। शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।













प्रतिक्रिया दिनुहोस्