जनता टाइम्स

१२ जेष्ठ २०७७, सोमबार २१:२६

एकैपटक ४३ जनाले कोरोनालाई जित्दा अस्पताल प्राङगणमै देखियो यस्तो खुसियाली


वीरगन्ज, जेठ १२ । सोमबार एकैपटक एउटै अस्पतालबाट ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार थप ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना तीन दिनमा डिस्चार्ज भएका छन् । सबै सङ्क्रमित कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएपछि अस्पताल सङ्क्रमितविहीन बनेको छ । पछिल्लो शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो ।

सोमबार पर्साका दुई जना पत्रकारसहित पर्साकै ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमितलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिनुभयो । सबै सङ्क्रमितको पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ४३ जना सङ्क्रमितलाई सोमबार डिस्चार्ज गरिएको हो ।

त्यस्तै, आइतबार राति ११ बजे एकै परिवारका १८ जना सङ्क्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिबार नौ जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । यसरी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै सङ्क्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ । वीरगञ्जकै गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।