जनता टाइम्स

१३ जेष्ठ २०७७, मंगलवार ०६:४६

प्रधानमन्त्री ओलीको प्रष्ट सन्देश : भारतले डब्लुएचओको प्रोटोकल पालना नगर्दा नेपालमा कोरोना संक्रमण बढ्यो


काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढनुमा भारत जिम्मेवार रहेको निश्कर्ष सुनाउनु भएको छ । देशबासीको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतकै भुमिकाका कारण नेपालमा कोरोना संक्रमण बढेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।

‘विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो । तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

नेपालमा कोरोना संक्रमितमध्ये ठुलो हिस्सा भारतबाट आएका नेपाली रहेका छन । भारतले आफ्नो देशमा परीक्षण गर्दा उपचार गर्नूपर्ने भएकोले विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने बिषयलाई बेवास्ता गरेको छ । उस्ले रातीराती सीमा क्षेत्रमा ल्याएर नेपालीलाई अलपत्र पार्ने गर्दै आएको छ भने बिना परीक्षण सीमासम्म आउन दिएको छ ।