जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार ११:३२

प्रदेश दुईका थप ७४ जनामा कोरोना संक्रमण


जनकपुर, जेठ १५ । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।

झाका अनुसार थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्। प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साह प्रदेश दुईको विभिन्न जिल्ला भारतीय सीमानाकासँग जोडिएकोले संक्रमण फैलिएको स्थानहरुबाट नेपाली आइरहेकाले संक्रमित संख्या बढेको बताउनु भयो ।

धनुषामा आज थपिएका २९ जना धनुषा लक्ष्मिनिया गाउँपालिकामा रहेको क्वारेन्टिनका व्यक्तिहरु रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो । ‘संक्रमितहरु सबै भारतको विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरु रहेको उहाँको भनाई छ । यसैगरी महोत्तरीमा थपिएका १७ जना भने जलेश्वरमा रहेको क्वारेन्टीनका हुन्। आज थपिएका संक्रमितसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ४ सय पुगेको छ।