जनता टाइम्स

१७ जेष्ठ २०७७, शनिबार १९:४६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो : दैलेखमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजिटिभ


काठमाडौं, जेठ १७ । दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार मृतक ती ब्यक्तिको स्वाबको रिपोर्ट पोजिटिभ आएको हो ।

ती व्यक्तिमा कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । ‘रिपोर्ट पोजिटिभ आउनेबित्तिकै हामीले शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका छौं, यसको लागि दैलेख जिल्ला प्रशासन कार्यालय र नगरपालिकासँग नियमित सम्पर्क भइरहेको छ,’ रावलले भन्नुभयो । कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै रहेको छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबारमात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ । दैलेख सदरमुकामबाट नेपाली सेनाको टोली शब व्यवस्थापनको लागि दुल्लुतर्फ हिँडिसकेको छ ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

रिपोर्ट पोजिटिभ आएसँगै उक्त क्वारेन्टाइनमा बसेका अन्य व्यक्तिहरु भने त्रसित भएका छन् । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा अहिले ७९ जना बसिरहेका छन् । दुल्लु अस्पतालकी डा. पूजा बिसीले कोरोना संक्रमण देखिए पनि तत्कालीक अवस्थामा उनमा हृदयघातको लक्षण देखिएको जानकारी दिनुभएको छ ।