जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार २१:५१

विदेशबाट उद्धार गरी ल्याइने नेपालीलाई निःशुल्क सिमकार्ड र खाना


काठमाडौं, जेठ १८

सरकारले उद्धार गरेर ल्याउने सबै नेपालीलाई निःशुल्क सिमकार्ड र खानाको प्रवन्ध गर्ने भएको छ । तर, खानाका लागि सरकारले तोकेको स्थानीय तहको क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

स्थलमार्ग हुँदै भारतबाट आएका तथा हवाईमार्गबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्दा दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले भुक्तानी गर्ने भएको छ । तर, यो रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई नभएर क्वारेन्टाइन राखिएको पालिकालाई दिइनेछ । कार्ययोजना अनुसार स्वदेश फर्किन चाहाने नेपालीले हवाई उडान, यातायात र होटल क्वारेन्टाइन खर्च आफैले व्यहोर्नुपर्नेछ । तर, स्थानीय तहका क्वारेन्टाइनमा बस्नेको खर्च भने सरकारले व्यर्होने भएको छ ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा हस्ताक्षर गरेपछि उद्धार कार्य शुरु भएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त रुपमा बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।

हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै नेपाल टेलिकमको निःशुल्क सीमकार्ड उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । सो सिमकार्डबाट उनिहरुले स्वास्थ्य मन्त्रालयको एप डाउनलोड गरी दैनिक आफ्नो स्वास्थ्य अपडेट गराउनुपर्ने हुन्छ । यसरी उपलब्ध गराइएको सीमकार्ड कम्तिमा ६० दिनसम्म प्रयोग गर्नुपर्नेछ । कसैले पनि यो सीमकार्ड प्रयोग गरिएका मोबाइल ‘अफ’गर्न पाइने छैन ।