जनता टाइम्स

२१ जेष्ठ २०७७, बुधबार ११:४६

दैनिक १५ सय पिसिआर परीक्षण गर्न सक्ने मेसिन किन्दै सरकार


काठमाडौं, जेठ २१

भारतबाट आउने नागरिकमा कोरोनाको संक्रमण बढ्दो रुपमा देखिन थालेपछि सरकारले एकैपटक धेरै परीक्षण गर्न मिल्ने पिसिआर मेसिन खरिद गर्ने भएको छ । सरकारले सोचे भन्दा भिन्नै रुपमा संक्रमित धमाधम नेपाल आउन थालेपछि दैनिक १५ सय परीक्षण गर्न सक्ने केही मेसिन किन्ने तयारी गरेको हो ।

हाल देशभर रहेका २० वटा प्रयोगशालाले कोरोनाको करिव २५ सय परीक्षण गर्दै आएको छ । नयाँ मेसिन खरिद गरेपछि दैनिक १० हजार जनाको पिसिआर प्रविधिबाट परीक्षण गर्ने तयारी भईरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि नयाँ मेसिन किन्न लागेको जानकारी दिनुभयो । उहाले परीक्षणको दायरा अझै फराकिलो बनाउनका लागि मेसिन खरिद प्रक्रिया शुरु भएको बताउनु भयो ।

त्यसका लागि स्वास्थ्य मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कस्ता र कति वटा मेसिन थप्ने हो भनेर सिफारिस गर्न भनेको छ । प्रयोगशालाकी निर्देशक डा. रूना झाले सकेसम्म आज नै कस्तो र कति क्षमताको मेसिन ल्याउने भन्ने मन्त्रालयलाई सिफारिस गरिने जानकारी दिनुभयो । निर्देशक झाले मन्त्रालयलाई पाँच वटा ठूला आरटी पिसिआर मेसिन खरिद गर्न सुझाउन लागेको बताउनु भयो । सो प्रयोगशालाले सुझाउने नयाँ पिसिआर मेसिनले दैनिक १५ सय परीक्षण गर्नसक्ने जनाउनु भयो ।

पाँच वटा मेसिन खरिद गर्न सके देशका मुख्य मुख्य शहरमा राखेर दैनिक ७ हजार ५ सय जनाको परीक्षण गर्नसक्छ । यसरी थप पाँच वटा ठूला क्षमताको मेसिन आए दैनिक १० हजार जनामा परीक्षण गर्न सकिन्छ । तेस्रो मुलुकबाट पनि नेपालीलाई उद्धार गरेर ल्याउने तयारी भईरहेका बेला सो मेसिन आवश्यक पर्ने मन्त्रालयको पनि बुझाई रहेको छ ।