काठमाडौं, जेठ २३ । कर्णाली प्रदेशमा कोरोना परीक्षणमा देखिएको त्रुटीले एक युवाले ज्यान गुमाउनु परेको छ । आरडीटी परीक्षणमा भर पर्दा सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेगाउँका २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको हो।
भारतबाट आएका उनी १४ दिनसम्म नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए। कोरोना संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पूरा भएको भन्दै बुधवार घर पठाइएको थियो। आरडिटी परीक्षणमा कोरोना संक्रमण नभएको बताएपछि खुसी भएर घर गएको ती युवकको बिहीबार बिहान २ बजे घरमै मृत्यु भएको हो।
स्थानीयका अनुसार ती युवाले स्वास फेर्न कठिन भएको बताएका थिए। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालययले ती युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि गरेको हो ।
मृतकका आफन्तले परीक्षणमा लापरबाही गरिएका कारण मृत्यु भएको बताएका छन्। आरडीटी परीक्षणको भर पर्दा युवकको अकालमै ज्यान गएको र गाउँ पनि जोखिममा परेको वडाध्यक्ष धनबहादुर थापाले बताउनु भयो। उहाँका अनुसार मृतक युवा जेठ ८ गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए। ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, कुनै स्वास्थ्य समस्या थिएन। तर घरमा पुगेपछि मृत्यु भयो, पहिले नै पीसीआर गरेको भए सायद बाँच्ने थिए,’ वडाध्यक्ष थापाले भन्नुभयो ।
मृतक युवक ६ जना साथीहरुसँगै एउटै क्वारेन्टाइनमा बसेका थिए। परीक्षणमा लापरबाही भएको यो पहिलो घटना भने होइन यसअघि दैलेखका एक युवकको पनि कोरोनाबाट मृत्यु भइसकेको छ। ती युवको पनि मृत्यु भएपछि मात्र पीसीआर परीक्षण गरिएको थियो। दुल्लुमा रहेको क्वारेन्टाइनमा बसेका ती युवकको पनि परीक्षण र उपचारमा गरिएको लापरबाहीबाट ज्यान गएको थियो। यी दुई घटनाले कर्णालीमा कोरोना परीक्षणमा गम्भीर लापर्वाही भइरहेको तथ्य उजागर भएको छ।
प्रतिक्रिया दिनुहोस्