जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार ०९:३४

कोरोना पोजेटिभ बिरामीलाई नै गरियो डिस्चार्ज


रुपन्देही, जेठ २४ । बुटवलको कोरोना विशेष अस्पतालबाट पोजेटिभ बिरामीलाई नै डिस्चार्ज गरिएको छ। १४ दिन आइसोलेसनमा बस्दासमेत कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले कोरोना पोजेटिभ बिरामीलाई डिस्चार्ज गरेको हो।

बुटवलस्थित धागो कारखानाको कोरोना विशेष अस्पतालमा रहेका २७ जनालाई शुक्रबार डिस्चार्ज गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमका अनुसार जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप नेगेटिभ रिपोर्ट नआए पनि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

कोरोना विशेष अस्पतालमा रुपन्देहीका १८ र कपिलवस्तुका ९ जनाले आइसोलेनमा १४ दिन बिताएका छन्। उनीहरुमा कुनै पनि लक्षण देखिएको छैन। लक्षण नदेखिएको कारण घरमै सुरक्षित रुपमा बस्ने गरी उनीहरुलाई पठाइएको गौतमले बताउनु भयो। स्थानीय तहका स्वास्थ्य केन्द्रले उनीहरुको निगरानी गर्नेछन्। कुनै लक्षण देखिएमा मात्रै अस्पतालमा भर्ना गरिने नीति अवलम्बन गरिएको छ।

यस्तो अभ्यास कोरोना ग्रस्त यूरोप र अमेरिकामा समेत गरिएको छ। त्यही अनुभवका आधारमा नेपालमा नयाँ मापदण्ड बनाइएको हो। संक्रमितको संख्या अत्याधिक भएको अवस्थामा परीक्षण गर्न असम्भव जस्तै भएको छ। क्वारेन्टाइनमा रहेकाले समते दशौ दिनसम्म पालो पाएका छैनन्।

कोरोना बिशेष अस्पतालका प्रवक्ता डाक्टर गौतमले संक्रमितको संख्या बढेको अवस्थामा यो मापदण्डको विकल्प नहुने बताउनु हुन्छ। बुटवलको कोरोना विशेष अस्पतालमा अब ६ जना मात्रै संक्रमित छन्। तीमध्ये तीन जनालाई आइसियुमा राखिएको छ। सैनामैना संक्रमित एक महिलालाई भने उपचारका लागि काठमाण्डौं पठाइएको छ। उनमा दीर्घरोग भएकाले स्वास्थ्य जटिलता देखिएपछि काठमाडौं पठाइएको हो।