जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १६:०५

जब हात हल्लाउदै मुस्कुराउदै ८ वर्षीया बालिका अस्पतालबाट निस्किन


बुटवल, जेठ २५

बुटवलको कोरोना विशेष आइसोलेसनबाट ९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जसमा एक ८ वर्षीया बालिका पनि रहेकी छन् । बुटवल–१० स्थित एन्फा फुटबल सेन्टरमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार डिस्चार्ज गरिएको हो ।

कोरोना नतिजा नेगेटिभ आएपछि डिस्चार्ज हुने नौ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाई गर्नुभयो । ‘घर फर्किएपछि समुदायमा सचेतना दूतका रुपमा काम गर्न आग्रह गरिएको छ,’ प्रमुख सुवेदीले भन्नुभयो, ‘सन्तुलित आहारविहारलाई जारी राख्न समेत सुझाएका छौं ।’

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठ जना र एक जना रुपन्देहीका हुनुहुन्छ । उहाँहरू जेठ ११ गते आइसोलेसन सेन्टरमा भर्ना हुनुभएको थियो । उहाँमध्ये कपिवलस्तुका एक जना वडाअध्यक्ष र आठ वर्षीया बालिकासमेत हुनुहुन्छ । सात जना सङ्क्रमितहरू भारतबाट फर्किएर आएकाहरू हुनुहुन्थ्यो ।

अब आइसोलेसनमा ३२ जना रहेका छन् । उनीहरूमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि सङ्क्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब सङ्कलन गरेर परीक्षण गरिनेछ । सम्भव भएसम्म आइतबार बेलुका नै वा सोमबार स्वाब सङ्कलन गरेर पठाउने तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।