जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार २०:१८

स्वास्थ्यमन्त्री ढकालले संसदमै सार्वजनिक गरे कोरोनाको खर्च बिवरण : यस्तो छ तीन तहले गरेको खर्च


काठमाडौं, जेठ २६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यका मापकहरुले दिएको मापदण्डको आधारमा जनजीवनलाई सहजीकरण गर्ने गरी लकडाउनको मोडल तय गर्ने तयारी सरकारले गरेको भएपनि “एउटै व्यक्ति सर्वज्ञ विज्ञ” भएका कारण समाज अलमलमा परेको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री ढकालले यस्तो बताउनु भएको हो ।

“लकडाउनका बारेमा स्वास्थ्यका मापकहरुले दिएको मापदण्डको आधारमा मापदण्डभित्र रहेर जनजीवनलाई सहजीकरण गर्ने खालको अवस्थाबाट हामी अगाडि बढ्नुपर्छ भन्ने विषयमा हामी विज्ञहरुको परामर्शबाट गईराखेका छौँ । तर हामीकहाँ विज्ञहरु यत्रतत्र सर्वत्र छन् । सबै खालका व्यक्तिहरु । एउटै व्यक्ति सर्वज्ञ विज्ञ भएको कारणले गर्दा सवै विज्ञले गरेका घोषणाले समाज अलमलमा नपरोस भन्ने विषयप्रति हामी सबै सचेत रहन सकियो भने अझ त्यसले ठूलो सहयोग हुनसक्छ, स्वास्थ्यमन्त्री ढकालले भन्नुभयो ।

मन्त्री ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको जानकारी पनि गराउनुभयो । उहाँले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गर्नुभएको हो । उहाँले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले सम्म भएको खर्चमध्ये २ सय ७६ करोड स्थानीय तहबाट, प्रदेश सरकारबाट १ सय ८ करोड र संघीय सरकारबाट ६ सय ३ करोड खर्च भएको स्पष्ट पार्नुभयो । तर यो खर्चमा ६ सय ४१ वटा पालिकाको खर्च मात्रै समावेश भएकाले सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने उहाँको भनाई छ । ६ सय ३ करोड मध्ये सिसिएमसि, स्वास्थ्य मन्त्रालय र यो विषयसंग सम्बन्धित अन्य कार्यमा खर्च भएको उहाँ स्पष्ट पार्नुभयो ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि जानुपर्ने भएकाले त्यसक्रमको यातायात खर्च, संक्रमितलाई अस्पताल ल्याउने लगायत काममा हुने खर्च पनि समावेश भएको बताउनुभयो । सांसदहरुले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब रुपैया खर्चमा प्रश्न उठाएपछि मन्त्री ढकालले सरकारको तहगत खर्च विवरण प्रस्तुत गर्नुभएको हो । उहाँले सरकारी निकायबाट भएको खर्च प्रक्रिया पूरा गरेर जो सुकैले हेर्न सक्ने बताउनुभयो । “२ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैया स्वास्थ्य मन्त्रालयको तर्फबाट सामाग्री किन्नेदेखि अहिलेसम्म खर्च भएका छ्न् । यी सबै कुरा राज्यको निकायबाट भएको हुनाले यी पारदर्शी छन् । जतिखेर जुनसुकै अवस्थामा पनि विधि पुर्याएर हेर्न सकिन्छ,” स्वास्थ्यमन्त्री ढकालले भन्नुभयो ।

उहाँले सोमबारसम्म संक्रमितहरुको संख्या ३ हजार ७ सय ६२ जना र ४ सय ८८ जना उपचारबाट निको भएर फर्किएको, १४ जनाको निधन भएको र ७ वटै प्रदेशका ७१ वटा जिल्लामा संक्रमणको प्रभाव देखिएको जानकारी दिनुभयो । सरकारले संक्रमित भएको भए उसको शरिरमा भाइरससंग लड्न सक्ने एण्टिवडी प्राप्त भए नभएको अध्ययन गर्नका लागि आरडिटी परीक्षण लाई पनि निरन्तरता दिएको स्पष्ट पार्नुभयो ।

“विश्व स्वास्थ्य संगठनले अध्ययन अनुसन्धानको निम्ति यसलाई प्रतिबन्ध लगाएको छैन । केसको एक्किन गर्ने कुरामा आरडिटी भन्दा पीसिआर ठिक छ भन्ने कुरा सैद्धान्तिक रुपमा नेपाल सरकारले पनि आत्मसाथ गरेको छ । उसको शरिरमा त्यो रोग संग लड्ने एण्टिवडी प्राप्त भएको छ कि छैन भन्ने अध्ययनका निम्ति हामीले यो आरडिटीको प्रयोग गरेका छौ । पिसिआर प्रविधिबाट नै हामी अगाडि जान्छौं,” स्वास्थ्यमन्त्री ढकालको भनाई थियो।

विश्व स्वास्थ्य संगठनले नै प्रतिबन्ध लगाएको आरडिटी विधिबाट परीक्षण गरिएको भन्दै सांसदहरुले आरडीटि परीक्षण रोकि पिसिआर परीक्षणलाई बढाउन माग गरेका थिए । मन्त्री ढकालले सरकारले पिसिआर परीक्षण बढाउदै लगेको बताउनुभयो । परीक्षण बढाउनका लागि उहाँले ७ वटै प्रदेशमा परीक्षणका लागि ठूला मेसिन खरिद प्रक्रिया अघि बढाएको जानकारी पनि दिनुभयो । उहाँले कोरोना संक्रमणको दरमा एशियामा नेपालको स्थान राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “एशियाको स्थरमा हामी निकै राम्रो ठाउँमा छौ । यो प्रति १० लाखमा ३३ सय ३७ मा छौँ । भारत ३३ सय ८४ छ । हामी केही दिन पछि भुटान भन्दा दोश्रोमा हुने छौ । ”

मृत्यु हुनेका परिवार र संसर्गमा आएका व्यक्तिमा कोरोना नहोस् र कोरोना रोकथाममा प्रभावकारी काम हुन सकोस् भन्ने दृष्टिले विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार मृत्यु भईसकेपछि पनि कोरोन परीक्षण गर्ने गरिएको स्पष्ट पार्नुभयो । उहाँले विश्वस्वास्थ्य संगठनले संक्रमण भएको २ देखि १० दिन भित्र संक्रमितबाट अरुमा भाइरस सर्न सक्ने क्षमता राख्ने र त्यसपछि अरुलाई भाइरस सार्न नसक्ने भनेकाले १४ दिन सम्म सुरक्षित क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षण गरी घर पठाउने नीति सरकारले लिएको बताउनुभयो ।

कोरोना मधेस केन्द्रीत भयो र मधेसमा पीसिआर परीक्षणको मेसिनमा पनि कमि भएको भन्ने सांसदहरुको भनाईमा उहाँले तराई भएकै कारणले कोरोनाको जोखिम बढेको नभई बाहिरबाट आउनेहरु धेरै भएको स्थानमा संक्रमणको जोखिम देखिएको स्पष्ट पार्नुभयो ।