जनता टाइम्स

२७ जेष्ठ २०७७, मंगलवार ०९:३७

कोरोनाको उपचार गराईरहेका ६८ वर्षीय पुरुषको मृत्यु, अस्पतालमा लापरवाही भएको हुन सक्ने आशंका


भरतपुर, जेठ २७

कोरोनाभाइरस सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचार गराइरहनु भएकाका एक व्यक्तिको मङ्गलबार मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइरहुनभएका भरतपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पताल प्रवक्ता लीलाधर पौडेलले जानकारी दिनुभयो ।

उहाँको सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहनुभएका उहालाई कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो । लामो समयदेखि मुटुका बिरामी उहाँको निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक डा. भक्तमान श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्था जटिल रहेका ती बिरामीको पाँच दिनदेखि नारायणी सामुदायिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो। संक्रमण पुष्टि भएपछि उक्त सामुदायिक अस्पतालले उपचार नगर्ने भन्दै भरतपुर अस्पतालतर्फ पठाएको थियो । “क्रिटिकल अवस्थाका बिरामीलाई यहाँ अहिले नै नल्याएर त्यही आईसीयूमै उपचार हुन दिन हामीले भनेका थियौं,” भरतपुर अस्पताल स्रोतले भन्यो, “त्यहाँबाट हिजो साँझ ६ बजे यहाँ ल्याएर राखियो। उपचार भइरहेका बेला नै आज बिहान मृत्यु भयो।”

गम्भीर अवस्थाको बिरामीलाई आईसीयूबाट त्यसरी निकालेर ल्याउँदा थप जोखिम भएको हुन सक्ने बताएको छ । मृतक मुटु र दमरोगबाट पनि ग्रसित थिए । उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको छ ।