जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार २२:३०

एसईई परीक्षा नगर्ने सरकारको निर्णय, यस्तो छ नयाँ विकल्प


काठमाडौं, जेठ २८

सरकारले कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले कानुनलाई संशोधन गरेर एसईई नगर्ने र विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ । यो सँगै लाखौं विद्यार्थीलाई परिक्षा हुने वा नहुने भन्ने अन्यौलबाट मुक्ति पाएका छन् । उनिहरुलाई अब विद्यालयले नै यसअघिको मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिदिनेछ । अर्थात विगतमा कक्षा ९ मा पढ्दा जस्तै विद्यालयले नै अंक दिनेछ ।

शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव नभएकाले सो निर्णय गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।